चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि विवादित डा. नीलमणी सहित ६ जनाको आवेदन



Download our app to get more features

काठमाडौं, २४ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि विवादीत डा. नीलमणि उपाध्यायसहित ६ जनाले आवेदन दिएका छन् । 

सिफारिस समितिका अनुसार उपाध्याय सहित डा. श्रीकृष्ण गिरी, डा. प्रमोद साह, डा. पारस पोखरेल, डा. रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका हुन् । गिरि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टर हुन् ।

आयोगको उपाध्यक्ष सिफारिशका लागि गठित समितिले चिकित्सा शिक्षामा स्वार्थको टकराव नभएका र ख्याती प्राप्त गरेको भनि सिद्ध काजजातसहित १५ दिन अघि दरखास्त आव्हान गरेको थियो । दरखास्त दिने मिति सोमबार सकिएको छ ।

नेपाल मेडिकल काउन्सिलका पूर्वरजिष्ट्रार उपाध्यायलाई गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर गरेको थियो । उनलाई जाँचबुझ आयोगले कारवाहीको सिफारिश समेत गरेको थियो ।

चिकित्सा शिक्षा ऐनको दफा ५ बमोजिम गठन हुने चिकित्सा शिक्षा आयोगमा चिकित्सा शिक्षा क्षेत्रमा विशिष्ट योगदान र्पूयाएकामध्येबाट एक जना उपाध्यक्ष हुन्छन् । उपाध्यक्ष आयोगमा पूर्णकालिन र कार्यकारीका रुपमा रहने व्यवस्था छ ।

उपाध्यक्ष नियुक्ति सिफारिशका लागि लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा सिफारिश समिति गठन गरिएको थियो । समितिले दरखास्त दिएका योग्य मध्ये ३ जनाको नाम नियुक्तिका लागि सरकार समक्ष सिफारिश गर्नेछ । ती मध्ये १ जना आयोगको उपाध्यक्ष नियुक्त हुने प्रावधान छ । सोचपत्र र व्यवसायिक कार्ययोजना सहित दरखास्त आव्हान गरिएको थियो ।

उपाध्याय पहिलो कार्यकाल विवादास्पद बनेपछि दोस्रोपटक मेडिकल काउन्सिलको रजिष्ट्रार नियुक्त भएका थिए । उनी अख्यितारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की सत्ता र शक्तिमा भएको बेलामा त्यसको भरपुर दुरुपयोग गर्दै अख्तियारको मेडिकल सल्लाहकार र सैनिक मेडिकल कलेजको प्राध्यापक समेत बनेका थिए । कार्की आयोगले उनलाई भ्रष्टाचारको क्रियाकलापमाथि समेत छानविन गर्न सिफारिश गरेको थियो ।

Last modified on 2019-07-10 07:21:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts