११ बुँदामा जानौ लुतो रोगबारे...



Download our app to get more features

ए क प्रकारको जीवाणु (किरा) बाट हुने रोग हो लुतो । पोथी सार्कोप्टिस स्क्याबीले छालाको बाह्य सतहमै ३० देखि ४० वटा फुल पार्छ । ती फुल छालामुनिको सूक्ष्म प्वालहरुमा एक हप्तामै विकसित भएर वयस्क हुन्छन् र विशेषगरी पोथी किराले छालाको सतहमुनि गएर आक्रमण गर्छन् । फुल पारेपछि चिलाउने र छालाभित्रै सुरुङ बनाउँदै लैजाँदा नरम छालालाई असर पार्छ ।

मानिसमा आउने लुतोबारे वरिष्ठ छालारोग विशेषज्ञ डा.सविना भट्टराई थप भन्छिन् :

१. पोथी सार्कोप्टिस स्क्याबीले शरीरका अति नै नरम भागहरुमा आत्रमण गर्छन् । छालमा सुरुङ खन्दै जाने र त्यहीँभित्र दिसा पनि गर्छन् । यसका कारण छाला फोहोर हुने र अत्यधिक चिलाउने गर्छ । 

२. मानिसको शरीरमा लुतोको जीवाणुले आक्रमण गरेको दुई दिनभित्र फुल पार्ने र त्यसपछि सुरुङ खन्दै अगाडी बढ्ने गर्छन् ।

३. लुतोको जीवाणुले टोक्दैन । तर, किराले गर्ने फोहोरका कारण मानिसको शरीर चिलाउने गर्छ ।

४. लुतोका कारण मानिसको शरीरका विभिन्न भागमा प्रत्यक्ष असर पार्छ । वयस्क मानिसको मुखमा यसले बढी असर गर्छ ।

५. सामान्य मानिसमा लुतोका २–४ वटा जीवाणु हुन्छन् । यसलाई सामान्य रुपमा लिने गरिन्छ । तर, एचआइभी भएका र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरुमा लुतो बढी हुने गरेको पाइन्छ । उनीहरुमा रोगसँग लड्ने क्षमता कम भएका कराण शरीरभर लुतोका जीवाणु संक्रमित हुन सक्छन् । लुतोलाई एक प्रकारको यौनरोग पनि भनिन्छ । जुन एकबाट अर्को व्यक्तिमा सर्छ ।

६. अधिकांश मानिस एकैठाउँमा टाँसिएर बस्नाले लुतोका जीवाणुको संक्रमण हुन्छ । लुतो लागेको व्यक्तिसँग शारीरिक रुपमा नजिक हुँदा उसले लगाउने लुगा–कपडा प्रयोग गर्दा या छुँदा लुतो सर्ने गर्छ ।

७. शरीरका नरम भागहरु औँलाका काप, काखिमुनि, कुहिनाको भित्री भाग यौनांग आसपासमा लुतोको संक्रमण बढी हुन्छ । यो समस्या रातिमा बढी हुने गरेको पाइन्छ ।

८. लुतोका किटाणुहरु रातको समयमा छालाबाहिर निस्कने गर्छन् । जब मानिस सिरकभित्र न्यानो भएर सुत्ने गर्दछन् तब किटाणुहरु छाला खाँदै–खाँदै बाहिर निस्किन्छन् ।

९. रातिको समयमा शरीर चिलायो भने या परिवारका सदस्यको शरीर चिलायो भने लुतो आएको अनुमान गर्न सकिन्छ । खासगरी शरीरका नरम भागहरु चिलाउनु लुतोको संकेत मान्न सकिन्छ ।

१०. बच्चाहरुमा आउने लुतो केही फरक किसिमको हुन्छ । बच्चाहरुको पैताला र मुखमा फोका आउने गर्दछ । बच्चाहरुमा रोगसँग लड्ने क्षमता कम भएका कारण लुतो पाप्प्रा पाप्प्रा भएर आउँछ ।

११. घरको सदस्यलाई लुतो आएको छ र रातिमा चिलाउँदा घरभित्र रहेका परिवारका अन्य सदस्यलाई सर्ने खतरा रहन्छ । त्यसैले लुतो लागेको परिवारमा एकजनाले मात्रै लुतोको उपचार गरेर हुँदैन सबैले गर्नुपर्छ । त्यो पनि एकै समयमा उपचार गर्नु अनिवार्य हुन्छ ।

Last modified on 2019-07-10 07:23:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts