शल्यक्रिया गरेर पहिलोपटक आँखा देखेपछि  किन सुम्सुमाए यी बालकले डा. रुइतलाई



Download our app to get more features

काठमाडौं, २१ असार । हेटौंडा, पदमपोखरीका १३ वर्षीय रोशन थिङ  जन्मेदेखि नै  राम्ररी देख्न सक्दैनथे । विस्तारै उनका आँखा झन्झन् विग्रदै गयो । थिङ जब कक्षा दुइमा पढ्दै थिए उनले एक आँखा पूर्ण रुपमा नै देख्न छोडे ।

एउटा आँखाले भने नजिकै लगेपछि  मोबाइलका नम्बरहरु मात्रै चिन्थे । आर्थिक अवस्था कमजोरका कारण थिङले यस अघि अस्पताल गएर कुनै उपचार गर्न सकेका थिएनन् । तर, गत बुधबारबाट भने थिङ पूर्ण रुपमा देख्नसक्ने भएका छन् ।

गएको मंगलबारदेखि  हेटौँडा सामुदायिक आँखा अस्पतालमा आयोजित तीन दिने ‘आउटरिच माइक्रोसर्जिकल आई क्याम्प’मा करिब ७० जना मोतियाबिन्दु रोगीको शल्यक्रिया गरिएको थियो । 

ती नै मध्येका एक हुन्, थिङ । केही वर्ष अघि नै आमा गुमाइसकेका थिङ आफ्नो हजुरआमासँग शिविरमा  पुगेका थिए । डा. सन्दुक रुइतको टिमले शिविरको पहिलो दिन  थिङको शल्यक्रिया गरे ।

जन्मैदेखि आँखाको समस्या भएकाले मोतिविन्दुको शल्यक्रियापछि थिङले आँखा देख्न सक्छन् भन्नेमा चिकित्सकहरु पूर्ण रुपमा विश्वस्त हुन सकेका थिएनन् ।

अझै मोतिविन्दु उमेर बढी भएका व्यक्तिमा देखिन्छ तर थिङको सानैमा आँखाको ज्योति गुमेको हुँदा पनि ढुक्क हुने अवस्था थिएन । डा. रुइत भने थिङले आँखा देख्छन् भन्नेमा विस्वस्त थिए । तर, पूर्ण रुपमा देख्छ कि देख्दैन भन्ने उनीमा पनि शंका थियो ।

बुधबार बिहान डा.रुइतले थिङको आँखाको पट्टी खोले । जब थिङको आँखाको पट्टी खुल्यो, १५–२० सेकेन्डसम्म केही देखिन भन्ने जवाफ दिए, थिङले ।

उनको यस्तो जवाफले शल्यक्रिया गर्ने टिमसहित थिङको हजुरआमाको मुहारमा एक्काशि निराशा छायो । तर, त्यो निराशा धेरै समयसम्म रहेने । पट्टी खोलिएको २० सेकेन्डपछि भने थिङले ‘देखेंदेखें’ भने ।

विस्तार–विस्तार थिङले वरिपरि रहेका मानिसलाई चिन्न थाले । सबैको मुहार खुशिले चम्किलो भयो । अरु त खुशी भएनै थिङ पनि संसार देख्न पाउँदा खुशिले गद्गद् भए ।

सधैं हजुरआमाको आवाज सुनिरहेका थिङले शल्यक्रियापछि पहिलोपटक उनलाई नै अंगालो हाले र म्वाइँ खाए ।

डा. रुइत पनि थिङसँग अघिल्लो दिनदेखि नै बोलिरहेका हुँदा उनले डा रुइतको आवाज पनि थाहा पाइसकेका थिए । उनलाई समेत थिङले अंगालो हाले, म्वाइँ खाए र मायाले केहीबेरसम्म सुम्मसुमाइरहे । थिङले खुशि हुँदै सुम्सुमाउँदा डा. रुइतको मुहार पनि एकदमै हर्षित देखिन्थ्यो ।   
  
 

Last modified on 2019-07-07 12:07:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts