नसर्ने रोगसँग लड्नका लागि प्राकृतिक चिकित्सा प्रभावकारी

काठमाडौं, असार २० । नेपालका लागि एकदमै महत्वपूर्ण दिन मानिन्छ, प्राकृतिक चिकित्सा दिवसलाई । हरेक वर्ष असार २० गतेका दिन मनाइने यो दिवस प्राकृतिक चिकित्सा क्षेत्रका लागि झनै विशेष रहन्छ । अघिल्ला वर्षहरु झैं शुक्रबार मुलुकभरि विभिन्न कार्यक्रम गरी प्राकृतिक चिकित्सा दिवस मनाइँदैछ ।
के हो प्राकृतिक चिकित्सा ? यसभित्र के–के पर्छ ?
प्रकृतिले दिएका चिजलाई जस्ताको त्यस्तै प्रयोग गरेर उपचार गर्ने विधिहरु प्रकृतिक चिकित्सा अन्तरगत पर्छन् । जस अन्तरगत पर्ने मुख्य विधि भनेको पंचमाहाभूत हो जसमा आकाश, घाम, पानी, वायु र माटो पर्छन् ।
यी तत्वहरु बाट गरिने उपचार नै प्राकृतिक चिकित्सा भित्र पर्छन् । यो भित्र मूलतः औषधि बिहीन चिकित्सा पद्धति प्रयोग गरिन्छ ।
प्राकृतिक चिकित्सा बिरामीका लागि मात्रै उपचार गर्ने विधि नभई यो एउटा प्राकृतिक स्वस्थ्य जीवनशैली हो । अहिले सर्ने रोग भन्दा नसर्ने रोगको बढ्दो प्रकोप रहेको छ ।
नसर्ने रोगका कारण विश्वभरि नै लगभग ७१ प्रतिशत मानिसको मृत्यु भएको छ भने नेपाल जस्तो विकासोन्मुख देशमा त ८१ प्रतिशत रहेको पाइन्छ ।
चिकित्सककाअनुसार यस्ता नसर्र्ने रोग कतै न कतै हाम्रो जीवनशैलीसँग सम्बन्धित छ । नसर्ने रोगसँग लड्नका लागि पनि प्राकृतिक चिकित्सा प्रभावकारी र अनिवार्य रहन्छ ।
प्राकृतिक चिकित्सा जीवनशैली अपनाइएन भने नसर्ने रोगको जोखिम उच्च हुने सम्भावना रहने प्राकृतिक चिकित्सकहरु बताउँछन् ।
वि स २०५८ सालमा राष्ट्रिय चिकित्साको रुपमा प्राकृतिक चिकित्सालाई असार २० गतेका दिन निर्णय भएको थियो ।
त्यसपछि समूदायमा वा प्राकृतिक चिकित्साका संघ संस्थाहरुले उत्सवको रुपमा मनाउने प्रचलनमा ल्याए पनि नेपाल सरकारको मन्त्रीपरिषदले २ वर्षअगाडि मात्र निर्णय गरेर विधिवत ढङ्गले राष्ट्रिय दिवसको मनाउन शुरुवात गरेको हो ।
नसर्ने रोगको जोखिम घटाउन प्राकृतिक चिकित्सा प्रद्धतिले सहयोग गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ ।
पछिल्लो समय मानिसहरु योग तथा प्राकृतिक चिकित्सा पद्धतितर्फ उन्मुख भैरहेको देखिन्छ । प्राकृतिक चिकित्सा पद्धतिलाई जनस्तरमै लानुपर्नेमा प्राकृतिक चिकित्सकहरुको जोड छ ।