रुपन्देहीमा मानसिक समस्या जटिल बन्दै, पुरुषमा भन्दा बढी महिलामा

रुपन्देही १७,असार । रुपन्देहीको ग्रामिण क्षेत्रमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। भारतसँग नजिकै सीमा जोडिनु, बैदेशिक रोजगारी, पारिवारिक झैझगडा, सामाजिक तथा पोषणका कारणले रुपन्देहीको दक्षिणि ग्रामिण क्षेत्रमा मानसिक समस्या जडिल बन्दै गएको हो ।
स्थानीय नगरपालिका तथा गाउँपालिकाले स्वास्थ्यका लागि रकम छुट्याउदै आएता पनि मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले बताए । घिमिरेले भने 'मानसिक स्वास्थ्य समस्या धेरै छ, यहाँ पारिवारिक मेलका समस्या छन, वैदेशिक रोजगारिले निम्त्याएको समस्या छ, एक अर्काप्रति विश्वास छैन, बालबालिकामा पोषणको अभाव छ । यसले समेत बालबालिका युवा अवस्थामा पुग्दा धेरै समस्या निम्त्याएको हो ।' सो क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई कम गर्न स्वास्थ्य बजेटको आकार समेत वृद्धि गरेको घिमिरेले बताए ।
'पहिला स्वास्थ्यका लागि आठ लाख बजेट छुट्याएका थियौं, अहिले बढाएर दश लाख बनाएका छौं'उनले भने । उनले पछाडी परेका समुदायमा बढी मानसिक समस्या देखिएकाले सचेतना बढाएमा क्रमस घट्दै जाने बताए । उनले भने –पारिवारिक कलहका कारण बढेको मानसिक स्वास्थ्य समस्यामा बढि महिला पर्ने गरेका छन् ।
घिमिरेले भने जस्तै कोटहीमाईको मझगाँवा स्वास्थ्य चौकीमा भेटिएकी सुनिता (३५ वर्षिया) नाम परिवर्तन दिनदिनै श्रीमानको पिटाई खाएका कारण मानसिक स्वास्थ्य समस्या (डिप्रेशन) को सिकार भईन् । उनी भन्छिन् 'श्रीमानले तनाब दिनुहुन्छ, कुट्नु हुन्छ, गालि गर्नु हुन्छ, मैले केही सोच्नै सकिन । उहाँले त्यसो गर्दा खालि मेरो मुटु दुखि रहन्थ्यो । '
टाँउकोको नशा जोडले चल्थ्यो । उनले अहिले नियमित औषधि खान थालेपछि निको भएको सुनाईन् । अहिले सामान्य बन्दै गएकी उनले अहिले सानो किराना ब्यवसाय समाल्दै आएकी छन् भने नजिकैकौ मझगाँवा स्वास्थ्य चौकीबाट औषधि समेत लिएर नियमित खादै आएकी छन् । सुनिता जस्तै ग्रामिण समुदायमा किशोर÷किशोरी, युवा÷युवति तथा बयस्कमा समेत मानिसक स्वास्थ्य समस्या देखिने गरेको छ ।
महिला पुरुष दुवैमा मानसिक स्वास्थ्य समस्या छ भने महिलामा पुरुषको तुलनामा बढी छ । कोटहीमाईमा रहेको मझगाँवा हेल्थ पोष्टमा मात्र १ सय ९७ जनाले मानसिक स्वास्थ्य सम्वन्धी विभिन्न समस्याको औषधी सेवन गरि रहेका छन् ।
मानसिक स्वास्थ्य समस्या देखिएका विरामीले जिल्ला स्वास्थ्य कार्यालयको सहयोग तथा सुनगाभा सामुदायिक विकास केन्द्रको समुदायमा आधारित मानसिक स्वास्थ्य परियोजनाको पहलमा संचालित मझगाँवा हेल्थ पोष्टबाट औषधि खाई रहेको स्थानीय मनोसामाजिक सहजकर्ता कमलावति यादवले बताईन् ।
मानसिक स्वास्थ्य समस्या ठुलो रहेको बताउने कमलावतीले मानसिक स्वास्थ्य समस्या देखिएका मध्ये ३० प्रतिशतले आफ्ना परिवारलाई नै थाहै नदिई औधषी खाने गरेको सुनाईन् । उनी खुलेका भन्दा नखुलेका विरामीहरु धेरै रहेको बताउछिन् । सुनगाभाले स्थानिय निकायसँगको सहकार्य र सहयोगमा थालेको मानसिक स्वास्थ्य परियोजना अन्तरगतको कार्यक्रम रुपन्देहीका रोहिणी गाउपालिकाको धकधई प्राथमिक स्वास्थ्य केन्द्र, बुटवलको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र र कोटहीमाईको मझगावा स्वास्थ्य चौकीमा चलि रहेका छन् ।
धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा ५ सय ३५ जनाले, मझगाँवा स्वास्थ्य चौकीमा १ सय ९७ जनाले र मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ५१ जनाले मानसिक स्वास्थ्य सम्वन्धि विभिन्न किसिमका औषधीहरु खाँदै आएको सुनगाभाका मानसिक स्वास्थ्य परियोजना संयोजक अमृता थापाले जानकारी दिईन् ।
उनले विभिन्न स्वास्थ्य संस्थाहरुमा संचालन भएको मानसिक स्वास्थ्य परियोजना मिति सन् २०२० डिसेम्बरमा सकिने बताउदै यसको दिगोपनका लागि स्थानीय सरकारले योजना ल्याउनु पर्ने सुझाव दिईन् । उनले यो समस्या जटिल बन्दै गएकाले यसबारेमा स्थानीय सरकारले गम्भिर भएका कार्यक्रम गर्नुपर्ने बताइन् ।
मानसिक स्वास्थ्य समस्यामा बढि डिप्रेशन (दिक्दारीपन) छ । त्यसपछि चिन्ता, किशोर तथा युवा अवस्थामा विकृत तनाव, छारे र मानसिक असन्तुलन समस्या देखिने गरेको चिकित्सक बताउछन् ।
रुपन्देहीको ग्रामिण क्षेत्रमा मात्र नभई शहरि क्षेत्रमा समेत मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गएको छ । मानसिक स्वास्थ्य समस्या कम गर्न राज्यतर्फबाटै नीतिगत कार्यक्रम बनाउन आवश्यक छ, कार्यक्रम नबनाइए हरेक मानिस मानसिक स्वास्थ्य समस्याले पीडित हुने चिकित्सकको सुझाव छ ।
वरिष्ठ मनोरोग विशेषज्ञ डाक्टर मनोज ढुङ्गानाले हरेक ४ मा एक जनामा मानसिक रोगमा डिप्रेशनको समस्या रहेको बताउछन । मानसिक स्वास्थ्य समस्यालाई कम गर्न नियमित औषधि सेवन र निको भएपछि ब्यस्त जीवनशैली गराउने इलम दिनु नै हो ।
व्यस्तताले निको भएका बिरामीमा मानसिक रोगको समस्या फेरि दोहरिन दिन्न । त्यसैले औषधिपछी इलम नै अचुक उपाय हो उनले भने । डाक्टर ढुङ्गाना भन्छन 'ग्रामीण क्षेत्रमा जस्तै शहरी क्षेत्रमा पनि यो समस्या जटिल बन्दै गएको छ, ग्रामिण क्षेत्रमा देखिन्छ, शहरी क्षेत्रमा देखिन्न त्यतिन हो, समस्या जताततै उस्तै छ ।' अब सरकार गम्भिर बन्नु पर्ने सुझाब दिएका डाक्टर ढुङ्गानाले नभए मानसिक स्वास्थ्य समस्या विकराल हुने वताए ।