स्वास्थ्यका विभिन्न निकायमा नेतृत्व हेरफेर

काठमाडौं, १५ असार । स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजन सकिएसंगै स्वास्थ्यका विभिन्न निकायको नेतृत्वमा हेरफेर भएको हो । स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईले स्वास्थ्यका विभिन्न निकायमा जिम्मेवारी हेरफेर भएको बताए ।
स्वास्थ्यमा भएको जिम्मेवारी हेरफेर भएसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. सुनिलनाथ प्याकुरेल भएका छन् । यसअघि विभागको महानिर्देशकमा गुणराज लोहनी थिए । समायोजनपछि लोहनी कोशी अञ्चल अस्पतालमा पठाइएको छ ।
यसैगरी औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिइएको छ । यता राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक भिमसिंह तिंकरी परिवार कल्याण महाशाखाको निर्देशक बने भने क्षयरोग केन्द्रमा धौलागिरी अस्पतालका मेसु डा. सागरराज भण्डारी आएका छन् । परिवार कल्याण
महाशाखाका निर्देशक डा. आरपी बिच्छा कान्ति बाल अस्पतालका निर्देशक बनेका छन् । यसैगरी आयुर्वेद तथा वैकल्पिक विभागको महानिर्देशक डा. बासुदेव उपाध्यायलाई यथावत राखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा र सहसचिव डा दीपेन्द्ररमण सिंहको पदस्थापन पनि यथावत रहेको छ ।