विपी प्रतिष्ठानमा एक सातादेखि जारी आन्दोलन टुंगियो, खुल्यो ताला

काठमाडौं, १५ असार । विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सातादेखी जारी आन्दोलन टुंगिएको छ ।
यसै शैक्षिक सत्रबाट विशेषज्ञ चिकित्सा पढाइमा नेपाली विद्यार्थीका लागि थप ३ बटा कोटा बढाउने सहमत भएपछि आन्दोलन टुंगिएका हो ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेलफेयर सोसाइट र प्रतिष्ठान पदाधिकारीबीच शनिवार र आइतवार भएको पटक–पटकको वार्तापछि प्रतिष्ठान पदाधिकारीहरु इन्टरनल मेडिसिन, पेडियाट्रक र सर्जरीमा १/१ सिट नेपाली विद्यार्थीको लागि बढाउन तयार भएका हुन् ।
पदाधकारीहरुसँगको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको सोसाइटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘विदेशी विद्यार्थीको हकमा चिकित्सा शिक्षा ऐनमा भएको हालको प्रावधान सच्याएर कुल सिटको एक तिहाइ नभै स्नातकोतर तहका हरेक विषयहरुमा बढीमा एक तिहाइमात्र सिट विदेशीलाई दिन मिल्ने गरी संसोधन गर्नु पनि माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
सोसाइटीकाअनुसार प्रतिष्ठानसँगको बार्ता सफल भएसँगै चार दिनदेखि उपकुलपति कक्षमा लागेको ताला पनि खोलिएको छ ।
हेरौं विज्ञप्ति