वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रेक्टर कार्यालयको ताला अझै खुलेन



Download our app to get more features

धरान, १५ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रेक्टरको कार्यालयमा लगाएको तालाबन्दी आज चौथो दिनपनि खुल्न सकेको छैन ।

स्नातकोत्तर तह (एमडीरएमएस) मा ऐनविपरीत विदेशी विद्यार्थीलाई बढी सिट उपलब्ध गराएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ विपरीत एक तिहाइभन्दा बढी सिट प्रतिष्ठानले विदेशीलाई उपलब्ध गराएको भन्दै उपकुलपति डा. राजकुमार रौनियार र रेक्टर डा. गुरु खनालको कार्यालय प्रवेश गर्ने मूलगेटमा बिहीबारदेखि तालाबन्दी गरेको हो । यसअघि, सोसाइटीले विदेशी विद्यार्थीलाई बढी प्राथमिकता दिएर छुट्याएको सिट संख्या सच्याउन भन्दै प्रतिष्ठानलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

तालाबन्दीपछि जुनियर रेसिडेन्ट डाक्टरहरू उपकुलपतिको कार्यालयअघि बिहीबार र शुक्रबार धर्नामा बसेका थिए । प्रतिष्ठानले गत शनिबार एमडी/एमएसको प्रवेश परीक्षा लिएको थियो भने सोमबार परीक्षाफल प्रकाशन गरेको थियो । लगत्तै, जुनियर रेसिडेन्टहरूले ऐनमा गरिएको व्यवस्थाविपरीत विदेशी विद्यार्थीलाई बढी कोटा छुट्याएको भन्दै विरोध जनाएको थिए । आफूहरूले दिएको अल्टिमेटमको सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए ।

प्रतिष्ठानले भने ऐनले भनेबमोजिम नै एक तिहाइभन्दा कम सिट संख्या विदेशीलाई छुट्याएको दाबी गर्दै आएको छ । प्रतिष्ठानमा रहेको एक सय २४ सिटमा विदेशीका लागि २६ सिट छ्याइएको छ । उत्तीर्ण विद्यार्थीलाई सोमबार काउन्सिलिङ गर्ने प्रतिष्ठानको तयारी छ । चिकित्सा ऐनको परिच्छेद ६, दफा १७ को उपदफा ५ मा ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएको सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुने छैन’ भन्ने व्यवस्था छ ।

Last modified on 2019-06-30 13:18:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts