सिरिन्ज आक्रमणको आतंक बनेपामा पनि

काठमाडौं, १२ असार । सिरिन्ज आक्रमण भएको भन्दै पछिल्लो केही सातादेखि काठमाडौं उपत्यकामा अस्पताल पुग्नेहरु बढीरहेका छन् । बाटोमा हिडिरहेको बेलामा कसैंले सुइले घोचेको, कुनै रोग सार्ने नियत वा अरु कुनै नियतले यसो गरेको भन्दै अस्पताल आउने क्रम बढीरहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनका अनुसार बुधबार र विहीबार पनि एक एक व्यक्ति अस्पतालमा यस्तै घटना लिएर आएको उनले बताए । उनका अनुसार यसरी अस्पताल आउनेको संख्या १० पुगि सकेको छ ।
अस्पताल आइपुगेका उनीहरुसँग प्रहरीले सोधपुछ गर्ने गरेको छ । सिरिन्ज आक्रमणको संकामा यसअघि काठमाडौं उपत्यका व्यक्ति मात्र आउने गरेकोमा बुधबार भने बनेपाबाट पनि एक जना अस्पताल आएको उनले बताए । सिरिन्ज आक्रमणको संका गरी अस्पताल आउनेहरुलाई एचआइभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपटाइटिस बी विरुद्धको भ्याक्सिन पनि दिइएको छ ।
सामान्य लाग्दा लाग्दै पनि घटना पटक पटक दोहोरिदै आएको छ । बुधबार बनेपामा भएको सिरिन्ज आक्रमण नै हुन सक्ने डा. पुन बताउँछन् । यो भन्दा अगाडिका घटना सिरिन्ज आक्रमण नै हो की के हो भन्नेमा चिकित्सकहरु नै अन्योलमा छन् । डा. पुनका अनुसार बुधबारको घटनामा भने घाउको प्रकृति हेर्दा सिरिन्जले नै घोचेजस्तो थियो । घाउ हेर्दा सिरिन्जले घोचेको जस्तो गहिरो थियो भने यस अघिका घटनामा यस्तो गहिरो घाउ थिएन ।
यो भन्दा अगाडिका घटनामा बाइकमा आएको अपरिचित व्यक्तिले खोपेको थियो भने बनेपामा पैदल हिडेको व्यक्तिबाट यस्तो घटना भएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहे जनाएको छ ।