विदेशमा कोमामा रहेका नेपालीलाई ल्याउन नयाँ कार्यदल गठन, मृत्यु भएका परिवारले पनि पैसा पाउने

काठमाडौं, १२ चैत । बैदेशिक रोजगारीमा गएका बखत बिरामी भएर कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने विषयमा सरकारले फेरी अर्को कार्यदल बनाएको छ ।
तीनवटाभन्दा बढी कार्यदलले दिएका प्रतिवेदन कार्यान्वयन गर्न नसकेको सरकारले फेरि कार्यदल बनाएको हो । यसपटक भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कोमामा रहेकालाई नेपाल ल्याई उपचार गर्ने भन्दै अर्को कार्यदल बनाएको छ ।
विदेशमा काम गर्न गएका २८ जना नेपाली कोमामा रहेर उपचाररत छन् । त्यसमा २ जना महिला छन् । सरकारले नेपाली नागरिकलाई स्वदेश ल्याई उपचारको व्यवस्था गर्ने निर्णय यसअघि नै गरेको हो । खाडीका देशमा रहेको नेपाली दूतावासले कोमाका बिरामीलाई स्वदेश ल्याउन सरकारलाई दबाब बढाएपछि अध्ययनका लागि भन्दै कार्यदल नयाँ बनाइएको हो । कोमाका बिरामी ल्याउन लाग्ने खर्च निकै धेरै हुने भएपछि यसको कानुनी आधार खोज्न श्रम मन्त्रालयको सहसचिवको अध्यक्षतामा कार्यदल बनाएको प्रबद्र्धन बोडले जनाएको छ । परराष्ट्र, स्वास्थ्य र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फरक–फरक समयमा बनाएका उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाइसकेको पनि प्रबद्र्धन बोडले जनाएको छ । त्यस्ता बिरामीलाई परिवारले आग्रह गरेमा र नेपालस्थित अस्पतालले उपचार गर्न सकिने भनेमात्र नेपाल ल्याउने तयारी रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले बताए ।
यस्ता बिरामी कतारको हमाद अस्पतालमा मात्रै १० वर्षदेखि कोमामा उपचाररत छन । दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, युएई लगायतका मुलुकका विभिन्न अस्पतालको कोमामा नेपाली कामदार उपचाररत छन । सबैभन्दा बढी कतारमा रहेको बोर्डले जानएको छ । बोर्डले यस्तो तयारी गरेपनि नेपाली अस्पताल भने त्यसका लागि तयार रहे नरहेको भन्नेबारे भने अध्ययन भएको छैन । त्यसका लागि चाहिने आवश्यक पूर्वाधारबारे पनि ख्याल गरिएको छैन ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एक सय १४ कामदारका परिवारलाई ६ करोड ६६ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ । करार अवधि भित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका र बिदामा घर आएका बेला मृत्यु भएकालाई पनि क्षतिपूर्ति दिने निर्णय गरिएको हो ।