चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया सुरु
यस्तो हुनुपर्छ योग्यता

काठमाडौं, ११ असार । चिकित्सा शिक्षा ऐन पारित भएको साढे पाँच महिनापछि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ ।
सिफारिस समितिले सोमबार सूचना जारी गरी योग्यता पुगेका व्यक्तिले २४ असारसम्ममा आवेदन दिइसक्नु जनाएको छ । उपाध्यक्षको कार्यअवधि चार वर्षको रहनेछ । जसको लागि योग्यता चिकित्साशास्त्रमा कम्तिमा स्नातकोत्तर गरेको र स्वास्थ्य सेवा क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्छ । साथै चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थको टकराव नभएको हुनुपर्नेछ ।
आयोगले सूचना जारी गरेको अवधिबाट १५ दिनभित्र दरखास्त दिन माग गरेको छ । आयोगको अध्यक्ष भने प्रधानमन्त्री रहने व्यवस्था छ । उपाध्यक्ष नियुक्ति खुल्ला प्रतिश्पर्धाबाट हुनेछ । जसका लागि सरकारले लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठन गरेको समितिले सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो ।
समितिले दरखास्त दिनेहरूको कार्ययोजना प्रस्तुति, लिखित र मौखिक परीक्षा लिइ तीन जनाको नाम उपाध्यक्षको लागि सिफारिस गर्नेछ । र त्यसबाट एक जनालाई सरकारले छनोट गर्नेछ ।