यी हुन् वर्षायाममा लाग्ने रोग र जोगिने उपाय



Download our app to get more features

काठमाडौं, ५ असार । वर्षायाम शुरु भएसँगै किटजन्य सरुवा रोग, खाना तथा पानीजन्य रोगको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् ।

वर्षायाममा पानीका मुहानहरू दुषित हुन थाल्ने र त्यस्तो पानी निर्मुलिकरण नगरि खाँदा पानीजन्य रोगको संक्रमण बढ्ने शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन् । 

डा. बाँस्तोलाका अनुसार गर्मी मौषमसँगै झाडापखला, वान्ता, आउका बिरामी हेपटाइटिस ए र इ का बिरामी हरेक वर्ष बढ्दो क्रममा छन् ।

यसैगरी किटजन्य रोगमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट सर्ने रोगहरूको संक्रमण पनि बढ्दो छ  । यस समयमा फुटपोइजनका बिरामी पनि अस्पतालमा प्रशस्तै आउने गरेको उनको भनाइ छ । 

बासी र असुरक्षित रूपमा भण्डारण गरेका खानेकुरामा विभिन्न खालका जीवाणु हुन्छन् । यस्तो खाना खाएमा शरीरमा जीवाणुको प्रवेश भइ ज्वरो, वान्ता (फूड पोइजनिङ) हुन्छ । गर्मी मौसममा विभिन्न विषाणु र जीवाणुको प्रवाह गर्ने झिंगाको संख्या बढ्छ । झिंगाले दिसा, जमीन र फोहोर पानीबाट खानामा विषाणु र जीवाणुको प्रवाह गर्न मद्दत पु¥याउने हुँदा बाहिर राखेका र बासी नखान उनको सुझाव छ ।

वर्षाको पानीमा खेल्नाले पनि विभिन्न किसिमका रोग लाग्ने र सर्ने डा. बाँस्तोला बताउँछन् । धान रोप्ने समय भएकाले खेतको पानीमार्फत लेप्टोस्पाइरोसिस रोग लाग्न सक्छ । खोला तथा दहको जमेको दूषित पानीमा पौडी खेल्दा खुला एमिबाको संक्रमण हुन्छ । पानीमा आर्सेनिकको मात्रा उच्च भएमा आर्सेनिकोसिस रोग लाग्ने सम्भावना पनि हुन्छ । वर्षाको समयमा यी रोगका लक्षण, रोकथाम र सचेत रहने डा. बाँस्तोला यस्तो सल्लाह दिन्छन् । 

पानीजन्य रोग
झाडापखाला

यस्ता रोग विभिन्न किसिमका जीवाणु, प्रोटोजोआ, भाइरस आदिका कारण लाग्छ । शरीरमा पानी सुकेर सुक्खापन, बेहोश र अर्धचेत हुने समस्या देखिन्छ । समयमा उपचार नपाए मानिसको मृत्यु पनि हुनसक्छ । यस्ता रोग लागे पखालामा चौलानी जस्तो दिसा पटकपटक आउँछ ।

हेपाटाइटिस ( ए र इ )
दूषित पानी खानाले हेपाटाइटिस ए र इ को संक्रमण हुन सक्छ । बिरामीलाई पखाला लाग्ने, वान्ता आउने, पेट पोल्ने, ज्वरो आउने, टाउको दुख्ने, केही समयपछि आँखा पहेँलो हुने र कहिलेकाही कलेजोका समस्या पनि देखिन्छन् ।

फूड पोइजनिङ 
खाना खाएको केही घण्टामै पेट दुख्ने र पटकपटक वान्ता हुने, ज्वरो आउने र छाला चिलाउने समस्या देखिनुलाई ‘फूड पोइजनिङ’ भनिन्छ । यस्तो लक्षण देखिएमा प्रशस्त पुनर्जलीय झोल, नुनिलो खानेकुरा खानुका साथै सकेसम्म चाँडै अस्पताल जानुपर्छ ।

बच्ने उपाय
पानीजन्य रोगबाट बच्ने उपाय भनेकै स्वच्छ पानीको सेवन हो । पानी उमालेर पिउनुपर्छ । क्लोरिनको प्रयोग गर्न सकिन्छ ।

साबुनपानीले हात धुँदा धेरै किटाणु नाश हुन्छन् । दिसासँगको सम्पर्कपछि, बच्चाको दिसा धोएर डाइपर फेरेपछि साबुनपानीले हात धुनुपर्छ । खाना अघि, खाना बनाउनुभन्दा पहिले साबुनपानीले हात धुनुपर्छ । साबुनपानीले हात धुने बानीले झाडापखाला र श्वासप्रश्वाससम्बन्धी ५० प्रतिशतसम्म रोगमा कमी आउँछ ।
 

Last modified on 2019-06-21 11:27:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts