बिरामीको मृत्युपछि ओम अस्पतालमा तनाव, लापरवाहीको आरोप



Download our app to get more features

काठमाडौं, ३० जेठ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित हुँदा राजधानीको ओम अस्पताल तनावग्रस्त भएको छ । पित्तथैलीको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहि भएको भन्दै बिरामीका आफन्त आन्दोलित भएका हुन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावतीकी ५० वर्षीया रामप्यारी थापा हुन् । थापाको गत शुक्रबार पित्तथैलीमा अपरेशन भएको बताइएको छ ।

अस्पतालले उनलाई बिहीवार मृतक घोषणा गरेको हो । ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको तर त्यसलाई नटालेकाले शरीरभरी दिसाको संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्त खड्ग श्रेष्ठले दावी गरे । पेटको प्वालमात्र टालिए तर आन्द्राको नटालिएकाले थापाको पुनः आइतबार अर्को शल्यक्रिया गर्नुपरेको पनि श्रेष्ठले बताए । पछिल्लो शल्यक्रिया गर्दा डेढ मिटरजति आन्द्रा फालिएको डाक्टरले बताएको उनले बताए । दोस्रो शल्यक्रिया पछि बिरामीलाई भेन्टिलेटरमा भर्ना गरिएको थियो । श्रेष्ठले भने 'डाक्टरसंग बिरामीको अवस्थाबारे बुझ्दा सुधार हुँदैछ भन्ने प्रतिक्रिया आउँथ्यो ।'

गत बिहीवार अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेकी थापाको डाक्टरले शुक्रबार नै शल्यक्रिया गरौं भनेकाले शल्यक्रिया भएको आफन्त पक्षको भनाइ छ । डा. रविन कोइरालाको नेतृत्वमा भएको शल्यक्रियाले बिरामीको मृत्यु भएकोले डाक्टरले माफि माग्नुपर्ने आफन्तले बताएका छन् । मृतकका आफन्तले नाराबाजी गर्दै विभिन्न माग राखेका छन् । उनीहरुले घटनाको उचित छानवीन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यता अस्पतालका मेडिकल डाइरेक्टर केपी देवकोटाले भने बिरामीको अवस्था पहिलेदेखि नै जटिल रहेको बताएका छन् । थापाको तीनपटकसम्म पाठेघरको अप्रेसन भइसकेको पनि डा. देवकोटालले बताए । बिरामीको आन्द्रा धेरै नै जेलिएको अवस्था रहेकोले त्यसलाई छुट्याउनु पर्ने भएको पनि उनले जानकारी दिए । यसका सम्भावित जटिलताबारे बिरामीका आफन्तलाई जानकारी गराएको उनले बताए । डा. देवकोटाले बिरामीलाई जतिसक्दो बचाउन प्रयास गरिएको दावी गरेका छन् । बिरामीलाई कुनै पनि एन्टीवायोटिकले काम नगरेको अवस्था पनि रहेको उनले जानकारी दिए ।

Last modified on 2019-06-15 14:36:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts