बाथरोग सेन्टरको छैटौं वार्षिकोत्सवः अब नेपालमै बाथको ८० प्रतिशत उपचार सम्भव



Download our app to get more features


काठमाडौं, २२ जेठ । नेपालमै बाथरोगको ८० प्रतिशत उपचार सम्भव भइसकेको चिकित्सकले बताएका छन् ।

बाथरोग सेन्टरको छैटौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ बिनित वैद्यले यस्तो बताएका हुन् ।

उनले भने, ‘६/७ महिनाअघि सम्म पनि बाथको कुनै किसिमको खास औषधि थिएन, अहिले हाड खिइएको, लुपसलगायत बाथ रोगको उपचारका लागि नयाँ–नयाँ प्रविधि भित्रिएका छन् ।’

‘जसबाट ८० प्रतिशत उपचार सम्भव छ, तर, बाथको अन्तिम चरणको उपचारमा भने समस्या भएको हुँदा त्यसका लागि पनि प्रविधि भित्राउन जरुरी छ’, डा. वैद्यले थपे ।  

नेपालमा ४० लाख मानिस कुनै न कुनै बाथ रोगबाट ग्रसित भएको जानकारी दिँदै उनले  यसको समयमै पहिचान गर्न आवश्यक रहेको बताए ।

यससँगै बाथरोग विशेषज्ञ वैद्यले बाथरोगमा नभएको जनशक्तिभन्दा भएको जनशक्तिलाई दक्ष बनाउन तालिमको आयोजना गर्न सरकारलाई सहयोगको अपिल गरे ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गरिराजमणि पोखरेलले सर्वप्रथम बाथरोग लागेका व्यक्तिलाई कसरी सेवा दिन सकिन्छ भन्नेबारे अभ्यास गर्न आवश्यक रहेको बताए ।

यससँगै बाथ रोगीको वास्तविक तथ्य पत्ता लागि नसकेको हुँदा अनुसन्धान गरी यस रोगको बृहत पहिचान गर्न जरुरी रहेको मन्त्री पोखरेलको भनाइ छ ।

उनले भने ‘यस्ता रोगको हालसम्म सहि ढंगले पर्याप्त अनुसन्धान भएको छैन, यसकारण अनुसन्धानलाई बढाउनुका साथै चिकित्सा शिक्षालाई पनि स्तोरन्नती गर्न जरुरी छ ।’

विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखेर यससम्बन्धित निती/नियम बनाउन अभ्यास भइरहेको भन्दै मन्त्री पोखरेलले आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता गरे । 

‘समयमा नै परीक्षण गरौं जोर्नीहरु बचाऔं’ भन्ने नारासहित नेशनल बाथरोग सेन्टरले हालसम्म कुल बिरामी मध्ये २.५  प्रतिशत बाथ रोगबाट ग्रसित बिरामीको सफल उपचार गरेको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए ।

उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन बाथरोग सेन्टरलाइ पनि आवश्यक तालिम तथा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न सरकारको सहयोगको आवश्यक रहेको बताए । 

कक्षपतिले नेपालमै पहिलोपटक बाथको प्रतिरोधी उपचार प्रविधि एडालिमुम्याब नामक बायोलोजिकल एजेन्ट भित्र्याएको जानकारी दिए । 


 

Last modified on 2019-06-07 07:40:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts