भारतको जेट एयरवेज बन्द हुदाँ नेपालमा पेट सिटिस्क्यान बन्द



Download our app to get more features

काठमाडौं, १९ जेठ । भारतको जेट एयरबेजका उडान बन्द हुँदा नेपालमा क्यान्सर रोगको परीक्षण गर्ने अत्याधुनिक प्रविधि पेट सिटी स्क्यान सेवा बन्द भएका छन् ।

पेट स्क्यानले क्यान्सरमा प्रयोग भएका औषधि शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने गर्दछ । जसले क्यान्सर उपचारमा सहयोग पुर्याउँछ । 

नेपालमा पहिलो पटक पेटसिटी स्क्यान दुई वर्ष पहिले लाजिम्पाटको सुरिया डाइग्नोस्टिक सेन्टरले भित्र्याएको थियो । सरकारले वीपी कोइराला क्यान्सर अस्पतालमा पेटस्क्यान भित्र्याउने भनेर पटक पटक बजेट विनियोजन गरेपनि खरिद हुन नसकेपछि निजी क्षेत्रले यो सेवा नेपालमा सुरु गरेको हो । 

नेपालीले लामो समयको पर्खाइ पछि स्वदेशमा नै क्यान्सरको उपचार गर्न पाएका थिए । सेन्टरले भित्र्याएको पेट सिटिस्क्यान जेटका उडान बन्द भएपछि रोकिएको छ । नेपालमा पेट सिटि स्क्यान गर्दा प्रयोग हुने पदार्थ १८ एफडीजी अभाव हुँदा सेवा बन्द भएको सुरिया डाइग्नोस्टिक सेन्टरकी डा. कृताञ्जली कोइरालाले जानकारी दिइन । यो कुनै स्टोर गरेर राख्न नमिल्ने विकिरणयुक्त पदार्थ भएको पनि उनले जानकारि दिइन् । यो पदार्थ प्रत्येक दुई घण्टामा पुरा मात्राको आधा घट्ने गर्छ । कोइरालाले थपिन् आज आउँदै छ भने बिरामीलाई तयार अवस्था राख्ने र विकिरण नछिर्ने तरिकाले बनाइएको भाँडोमा विमानस्थलबाट यहाँ सेन्टरसम्म ल्याइने गरिन्छ । हरेक दुई घण्टामा घट्ने हुँदा आइपुग्दा लाग्ने समयसम्मको हिसाव गरेर ठूलो परीणाममा किनिएको हुन्छ । 

नेपालमा यो पदार्थ भारतबाट आउने गर्थ्यो । यस पदार्थ ल्याउनलाई भारतीय एयरलाइन्स कम्पनी जेट एयरवयजलाई मात्र मान्यता थियो । तर गत चैत २५ बाट यस कम्पनीले आफ्ना सबै अन्तराष्ट्रिय उडान बन्द गर्दा नेपालमा पेट सिटिस्क्यान सेवा बन्द भएको हो । 

डा. कोइरालाका अनुसार सुरिया डाइगनोस्टिक सेन्टरमा हप्तामा एकपटक सेवा दिइने र सो क्रममा १२ जना सम्मको पेट सिटिस्क्यान हुने गरेको थियो । उनका अनुसार एयरवेजले आफ्नो उडान बन्द गर्ने बेलामा  पनि ३० जना जति बिरामी पेट सिटी स्क्यानको पर्खाइमा रहेका थिए । जो त्यसपछि महंगो खर्च गरेर भारत जानुपर्ने बाध्यता सिर्जना भयो ।  

कोइरालाले भने अनुसार पेट स्क्यान नहुने भएपछि डाक्टरहरुलाई उक्त सेन्टरमा बिरामी नपठाउन भनिएको छ । अहिले कोहिपनि बिरामी आउनु भएको छैन । समस्याको समधान हुने बाटो देखिसकेको छैन । इन्डिगो एयरलाइन्सले यो पदार्थ सप्लाइ गर्न अनुमति लिने प्रयासमा रहेको खबर सुनेको उनले जानकारी दिइन् । एफडीजी सप्लाई गर्न एयर कम्पनीले नेपाल र भारत दुवै देशका नागरिक उड्यान प्राधिकरणसँग अनुमति लिनुपर्छ । 
 

भारतमा जादाँ दोब्बर खर्च
नेपालमा पेट सिटिस्क्यान भित्रिएसँगैं भारत लगायतका विदेशी मुलुकमा उपचारका लागि जानुपर्ने बाध्यता कम भएको थियो । तर यो फेरी दुई महिनादेखि दोहोरिएको छ । जसकारण बिरामी दोहोरो मारमा परेका छन् । नेपालमा ५५ हजारमा हुने पेट सिटिस्क्यान भारतमा जाँदा लाखौं खर्च लाग्ने गर्दछ । 

यता चण्डोलमा रहेको कुण्डलीनी डाइग्नोष्टिक सेन्टरले पनि नेपालमा पेट सिटिस्क्यान ल्याएको छ । उसको सेवा पनि अहिले बन्द छ । यस सेन्टरका बारे जानकारी लिन खोज्दा अस्पताल प्रशासनले कुनै प्रतिक्रिया दिएन । 
 

नागरिक उड्यान प्राधिकरणलाई जानकारी नै छैन् 
भारती कम्पनी इन्डिगो एयरलाइन्सले पेट सिटीस्क्यानमा प्रयोग हुने पदार्थ सप्लाई गर्न गरेको प्रयास गरेको छ । यसका लागि नेपाल र भारत दुवैका नागरिक उड्यान प्राधिकरणको अनुमति चाहिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजन पोखरेलले भने यसबारे आफुलाई कुनै जानकारी नभएको बताए । 
 

स्वास्थ्य मन्त्रालय होमवर्क गर्दै
सरकारले भने पेट सिटिस्क्यान लागि पटक पटक बजेट छुट्याए पनि ल्याउन सकेको छैन् । पेट सिटी स्क्यान कहाँ राख्ने जस्ता कुरामा पूर्ण गृहकार्य भइ नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा मुल्यांकन अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले बताए । उनका अनुसार यसका लागि अध्ययन गर्न समिति गठन भइसकेको छ । यस समितिले असार भित्रमा प्रतिवेदन बुझाइसक्ने गरी कार्य गरिरहेको उनले बताए । प्रतिवेदन तयार भइसकेपछि खरिदको प्रक्रियामा जाने उनले दावी गरेका छन् । 

 
 

Last modified on 2019-06-03 14:21:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts