नेपालमा ४१ करोड थान स्यानेटरी प्याड उत्पादनको क्षमता, ३ करोड मात्रै उत्पादन



Download our app to get more features

काठमाडौं, १४ जेठ । नेपालमा ४१ करोड थान स्यानेटरी प्याड उत्पादन क्षमता रहेता पनि मात्रै ३ करोड थान उत्पादन हुने गरेको छ । नेपाली बजारमा स्यानेटरी प्याडको माग १६ करोड रहेको छ ।

जुन माग परिपुर्तिका लागि १३ करोड थान प्याड आयातीत हुने गरेको छ भने बाँकी ३ करोड स्वदेशी उत्पादनले परिपूर्ति गर्ने गरेको भन्सार विभागको तथ्याङ्ले देखाउँछ । विभागका अनुसार आयातित प्याडमध्ये ९० प्रतिशत प्याड भारतबाटै आयात गरिन्छ ।

प्याड उत्पादनका लागि आवश्यक कच्चापदार्थमा १५ देखि ३५ प्रतिशतसम्म कर लगाउँदा नेपाली उद्योग धराशयी बन्दै गएको उद्योगीहरु बताउँछन् ।

प्याडको माग परिपूर्तिका लागि नेपाल सक्षम भएता पनि सरकारले नेपाली उद्योगलाई प्रोत्सहान गर्ने कुनै किसिमको कार्यक्रम अगाडि नबढाएको स्यानेटरी प्याड उत्पादन गर्दै आएका पुनित शारदाले गुनासो गरे ।  

८६ प्रतिशत महिला स्यानेटरी प्याडको पहुँच बाहिर

हाल मुलुकमा ८६ प्रतिशत महिला स्यानेटरी प्याडको पहुँचबाहिरै छन् ।

स्यानेटरी प्याडको पहँुच बाहिर रहन बाध्य हुँदा महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखापर्ने गरेको चिकित्सकहरु बताउँछन् । स्वाथ्यमन्त्रालयले सन् २०१२ मा गरेको सर्वेक्षणअनुसार १० देखि २४ वर्षका उमेरसमूहका १५ प्रतिशत किशोरि एवम् महिलाले मात्रै स्यानेटरी प्याड प्रयाग गर्ने गरेको पाइएको थियो ।

साथै ८५ प्रतिशतले पुराना कपडा प्रयोग गर्ने गरेको पाइएको थियो । हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भने सबै विद्यालयका महिनावारी हुने छात्राका लागि स्यानेटरी प्याडको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

दुई लाख १० हजार महिनावारीसँग सम्बन्धित सामाग्रीमा खर्च तथ्याङ्अनुसार एक नेपाली महिलाले आफ्नो जिवनमा झन्डै दुई लाख १० हजार पाँच सय ६५ रुपियाँ महिनावारीसँग सम्बन्धित सामाग्रीमा खर्च गर्ने गर्छिन् । महिनावारी हुँदा धेरै खर्च गर्ने देशमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा छ ।

भारतका महिलाले भन्दा नेपालका महिलाले ३ गुणा बढी मुल्यमा सेनेटरी प्याड खरिद गर्ने गरेका छन् । पछिल्लो समय सेनेटरी प्याडको प्रयोगकर्ता बढेता पनि अझै दुरदरजका महिलामा यसबारे चेतना पुग्न सकेको छैन । चेतना पुगेका स्थानमा पनि महंगोका कारण आम महिलाले यसको प्रयोग गर्न नसकेको स्थिती छ ।

महिनावारीका समयमा प्रयोग हुने अत्यन्तै आवश्यक स्यानेटरी प्याडमा सरकारले कर छुट गर्नुपर्ने महिलाहरुको माग रहेको छ ।

स्यानेटरी प्याडमै सरकारले ३० प्रतिशत कर असुल्ने गरेको छ ।

 ५० प्रतिशत महिलालाई महिनावारीबारे छैन जानकारी

नेपालमा १६ वर्षदेखि ४९ वर्ष उमेर समूहका १ करोड ४० लाख महिला-किशोरीमा महिनावारी हुने गरेको छ ।

जसमध्ये अझै ५० प्रतिशत महिलालाई महिनावारीको बारेमा कुनै जानकारी नै छैन । महिनावारी भएको समयमा झन् धेरै सरसफाई गर्नुपर्छ भन्ने थहा नभएका महिलालाई स्यानेटरी प्याडको प्रयोग बारेमा थहा हुनु परको कुरा रहेको महिनावारी व्यवस्थापन सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले बताए ।

महिलालाई ४० किसिमका प्रतिवन्ध

सुदुरपश्चििमका कतिपय ठाउँमा फोहोर चिजलाई फोहोर कपडाले नै छक्नु पर्छ भन्ने सोचाई रहेको डा. अरुणा उप्रतीले बताईन् । उनले समाजका रहेका यस्ता परम्परागत सोचाईलाई जरैदेखि उखेल्नमा सबैले उल्लेखनीय भूमिका खेल्नुपर्ने दाबी गरिन् ।

महिनावारीका बारेमा थहा नभएका महिलाले त्यस अवस्थामा हेलचेक्र्याइँ गर्दा प्रजनन् प्रणालीमा संक्रमण बढ्दै गएको डा उप्रतीको भनाई छ ।

संयोजक श्रेष्ठले महिनावारीको समयमा महिलालाई ४० किसिमका प्रतिवन्धित रहेको बताए ।

जसअन्तर्गत महिनावारी भएका महिलालाई कसैलाई छुन नहुने, गोठमा बस्नुपर्ने, महिनावारी भएकी महिलाले छोएमा बोटबिरुवा मर्ने, गाईवस्तुले दुध नदिने, घ्यू/फलफूल खान नहुने लगायतका ४० भन्दा बढी प्रतिवन्धित रहेको संयोजक श्रेष्ठले बताए ।

Last modified on 2019-05-30 06:22:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts