पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्
पिसाब पोल्ने समस्या हामी धेरैलाई हुनसक्छ । कतिपयले हिचकिचाहाटले पनि यो समस्या लुकाइराखेको हुन्छौं । पिसाब पोल्ने धेरै कारणहरु मध्य धेरैलाई देखिने कारणहरु बारे यहाँ चर्चा गरिनेछ ।
पिसाब पोल्ने कारणहरु के हुन ?
- मुख्यतः पिसाव पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो । पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ । गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।
- मिर्गौला, पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ ।
- पत्थरीको कारणले मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ ।
- विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ ।
- पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो ।
पिसाब पोल्ने संगसंगै अरु के लक्षण देखिन सक्छ ?
यी रोगहरुमा पिसाब पोल्नेका साथसाथै अन्य निम्न लक्षणहरु पनि देखिन सक्छ ।
- पिसाब गर्न गाह्रो हुने वा दुख्ने
- चाडो चाडो पिसाब लाग्ने
- पिसाब थाम्न गाह्रो हुने
- पिसाबमा रगत देखिने
- पिसाबको रंग बदलिने वा गाडा हुने
- दायाँ वा बायाँ कम्मर दुख्ने
- ज्वरो आउने, टाउको दुख्ने, काम्ने, चिडचिड पसिना आउने
जाँच कसरी गर्ने ?
माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गएर पिसाब पोल्नुको कारण के रहेछ भनेर जानकारी लिइहाल्नुपर्छ ।
त्यसको निम्ति अवस्था हेरेर चिकित्सकको सल्लाह बमोजिम पिसाबको जाँच, रगतको जाँच, भिडियो एक्सरे आदि गराउनुपर्छ ।
उपचार के हो ?
पिसाब पोल्ने एउटा लक्षण मात्र भएकाले कुन रोगको कारण यो लक्षण देखिएको हो थाहा पाएर त्यसै अनुरुप उपचार गराउनु पर्छ । संक्रमण भएमा चिकित्सकको सल्लाह बमोजिम घरैमा वा अस्पताल बसेर एन्टीबायोटिक खानुपर्छ ।
पत्थरीको भएको भए आकार अनुसार शल्यक्रिया गरेर वा नगरेरै पनि अन्य विधिबाट उपचार गर्न सकिन्छ ।
पिसाब पोल्नबाट बच्ने उपायहरु
- यथेष्ट मात्रामा पानी पिउने ।
- कम्तीमा पनि दीनको दुई लिटर पानी पिउनाले संक्रमण वा पत्थरी दुबैमा फाइदा गर्छ र पिसाब पोल्ने कम हुन सक्छ ।
- यौनाङ्गको सरसफाइमा ध्यान दिनाले संक्रमणबाट जोगिन मद्दत पुर्याउँछ ।
- यौनरोगहरुबाट बच्न विभिन्न सावधानीका उपायहरू अपनाउने ।