स्वास्थ्य विधेयक ल्याउदै प्रदेश २, स्वास्थ्य चौकी निर्माणदेखि बर्थिङ सेन्टरलाई प्राथमिकता



Download our app to get more features

जनकपुर, १३ जेठ । प्रदेश २ सरकारले स्वास्थ्य सम्बन्धी विधेयक ल्याउने तयारी थालेको छ । 

शुक्रबारबाट सैद्धान्तिक रुपमा विधेयकमाथि छलफल सुरु भएको छ । विधेयकमा प्रत्येक स्थानीय तहमा स्वास्थ्य चौकी निर्माण, आमा तथा शिशु मृत्युदर कर्म गर्न बर्थिङ सेन्टर निर्माण गरिने लगायतका मुद्दालाई समेटिएको छ ।  

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले हाम्रो डक्टरसँग कुराकानी गर्दै छलफलको लागि पेस गरिएको विधेयकमा स्वास्थ्य संस्थामा सेवा र स्वास्थ्यकर्मी हुँदाहुँदै सेवाग्राहीलाई अर्को स्वास्थ्य संस्थामा रिफर गर्नेलाई कसुर ठहर गर्दै प्रदेश सरकारले जरिवाना गराउने व्यवस्था गरिएको बताए । 

उनले स्वास्थ्यको सुचकांकमा प्रदेश २ निकै कमजोर भएका कारण त्यसलाई सुधारलागि स्वास्थ्य विधेयक ल्याउन लागिएको बताए । 

उनले भने, ‘प्रदेश २ लाई स्वस्थ र सम्बृद्ध प्रदेश बनाउनका लागि स्वास्थ्य विधेयक ल्याउन लागिएको हो । जसमा स्वास्थ्य संस्थालाई कारबाही र जरिवानाको व्यवस्था पनि गरिनेछ ।’

सेवा, सुविधा उपलब्ध हुँदा हुँदैपनि अन्यत्र रिफर गर्नेलाई तीन भागमा जरिवाना तोकिएको भन्दै मन्त्री यादवले पहिलो पटकका लागि २५ हजार, दोस्रो पटक गरेमा ५० हजार र तेस्रो पटक पनि यस्तै काम गरे ५ लाखसम्म जरिवाना लिने विधेयक प्रदेश सरकारले संसदमा पेस गरेको छ ।

त्यसैगरी झोले अस्पताल र पोलिक्लिनिकहरूलाई नियन्त्रण गर्नपनि विधेयकमा जरिवानाको प्रावधान गरिएको छ ।  

अनुमति नलिइ स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई १ लाख जरिवाना र स्वास्थ्य संस्था बन्द गरिने प्रावधान विधेयकमा राखिएको छ ।

दर्ता नगरी क्लिनिक लगायतका स्वास्थ्य सेवा प्रदायकलाई २५ हजारदेखि १ लाखसम्म जरिवाना हुने विधेयक प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले ल्याएका छन् । 

विधेयकमा आकस्मिक उपचारका लागि आएका सेवाग्राहीले रकम डिपोजिट र प्रहरी प्रतिवेदन लगायत अन्य कागजात पेस नगर्दा बिरामीको मृत्यु हुने हुँदा त्यस अवस्थामा समेत उपचार गर्नुपर्ने व्यवस्था सहितको विधेयक ल्याउन लागिएको हो ।
 

Last modified on 2019-05-27 14:50:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts