दलको घोषणापत्रमा स्वास्थ्यका कार्यक्रम कागजमै सीमित

आगामी वर्षबाट मात्रै कार्यान्वयनमा ल्याइने स्वास्थ्यमन्त्रीको भनाइ



Download our app to get more features

काठमाडौं, १२ जेठ । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसलगायतका दलले संसदीय निर्वाचनताका जनस्वास्थ्यबारे विभिन्न नारा अघि सारेको भए पनि कार्यान्वयनतर्फ खासै चासो देखाएको पाइँदैन । विभिन्न दलले जनस्वास्थ्यबारे आकर्षक नारा पस्केको भए पनि ती नारा कागजमै सीमित भएका छन् । यसले दलहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ ।

निर्वाचनपछि नेकपा दुई तिहाइनजिक पुगेको भए पनि उसका चुनावी एजेन्डा कागजमै अलपत्र बनेको छ । नेकपाले आफ्नो चुनावी घोषणापत्रमा नगरपालिकाको केन्द्रमा ५० शय्याको अस्पताल बनाउने, प्रत्येक वडामा दक्ष जनशक्तिसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने, बालमृत्युदर शून्यमा झार्ने, सबै प्रदेशमा १ हजार शय्याको अस्पताल बनाउनेलगायतका महत्वपूर्ण विषय उल्लेख गरेको थियो । तर, तीमध्ये अधिकांश कागजमै सीमित बनेको छ ।

नेकपाले गरिबीको रेखामुनि रहेका जनताका लागि बिमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गर्ने विषय पनि घोषणापत्रमा समेटेको थियो ।

नेकपाको सरकार गठनपछि नीति तथा कार्यक्रम दुईपटक आइसकेको पनि घोषणापत्रमा रहेका स्वास्थ्यसम्बन्धी अधिकांश बुँदा त्यसमा समेटिएको छैन । जनतासामु गरेका कतिपय वाचालाई घोषणापत्रमार्फत समेटेको बताए पनि ती बुँदा कार्यान्वयनमा नआउँदा आमजनतामा निराशा छाउँदै आएको छ ।

घोषणापत्रमा प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरण, प्रविधि र स्वास्थ्यकर्मीसहितका स्वास्थ्य चौकी र घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने पनि उल्लेख छ । नेपालमा पाइने जडीबुटी तथा औषधिजन्य पदार्थको संवद्र्धन गरी औषधि उत्पादन गरिने पनि नेकपाको चुनावी घोषणापत्रमा उल्लेख छ । यस्तै, खोप, स्वास्थ्य सेवा र पोषणयुक्त खानाको पर्याप्त उपलब्धता तथा स्याहार सम्भारबाट बालमृत्युदर शून्यमा पु¥याइने पनि उल्लेख छ । तर यी सबै कार्यक्रम कागजमै सीमित बनेका छन् ।

यसैगरी, नेकपाको घोषणापत्रमा उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मिर्गौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराइने उल्लेख छ । घोषणापत्रमा मानसिक रोग, डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तीपाइले, टिबी, निमोनिया, टाइफाइड, झाडापखाला तथा सिकल सेल एनिमियाजस्ता रोगको प्रभावकारी रोकथाम र नियन्त्रण गरिने विषय पनि समेटिएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नुका साथै मदिरा उत्पादन र बिक्री वितरणलाई प्रभावकारी रूपमा नियमन गरिने, स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिने विषय नेकपाको घोषणापत्रमा समेटिएको छ ।

क्रमिक रूपमा पार्टीको घोषणापत्रलाई कार्यान्वयनमा ल्याइन्छः स्वास्थ्यमन्त्री यादव
उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरमको सत्तायात्रापछि नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग दुई तिहाइ बहुमत छ । तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव स्वयं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा छन् । सो पार्टीको घोषणापत्रमा केन्द्रीकृत राज्यको परिणामस्वरूप राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पु¥याइने विषय समेटिएको छ । तर, सो पार्टीका चुनावी एजेन्डा पनि कागजमै मात्र सीमित पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले क्रमिक रूपमा पार्टीको घोषणापत्रलाई कार्यान्वयनमा ल्याइने बताए । उनले भने, ‘घोषणापत्रमा समेटिएका स्वास्थ्यका विषयलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । अब बजेट व्यवस्थापनमार्फत समस्याको हल हुन्छ । नयाँ स्वास्थ्य नीति पनि आउँदै छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसको चुनावी घोषणापत्रमा मलेरिया, हेपाटाइटिसलगायतका रोगबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाइने उल्लेख छ । यस्तै प्रत्येक वडामा नर्सिङ सेवा उपलब्ध गराइने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ ।

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-05-26 13:30:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts