सूर्तिजन्य पदार्थमा कर बढाउन सराेकारवालाकाे माग

नेपालका १६ प्रतिशत क्यान्सरका बिरामी उपचारका लागि घरबार बेच्न बाध्य



Download our app to get more features

 स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालले सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐन अन्य देशको तुलनामा उत्कृष्ट भएको भन्दै अब करको दायरा बढाउन पर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा स्वास्थ्य पत्रकार मञ्च, स्वास्थ्य मन्त्रालय, एक्सन नेपाल एवं द युनियनले आयोजना गरेकाे सूर्तिजन्य पदार्थ नियन्त्रण र यसको सेवनले क्यान्सर तथा मुटुरोग उपचार लागत खर्चसम्बन्धि अनुसन्धानात्मक प्रस्तुतीकरण तथा पैरवी बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । त्यस्तै कार्यक्रममा सूर्तिजन्य पदार्थको कर बढाउनका लागि सरोकारवाला निकायले नेपाल सरकारलाई आग्रह गरेका छन् ।

आर्थिक वर्ष नजिकिँदै गर्दा उनीहरुले सूर्तिजन्य पदार्थको कर बढाउन सरकारलाई आग्रह गरेका हुन् । प्रत्येक वर्ष सूर्तिजन्य पदार्थ सेवनबाट लागेका रोग उपचारका लागि नेपाल सरकारले ४३ अरव खर्च गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २५ देखि ३० हजार नेपालीको मृत्युको कारक सूर्तिजन्य पदार्थ भएको हुँदा कर बढाउँदा पदार्थको सेवन कम हुने बक्ताहरुले बताएका हुन् ।

सूर्तिजन्य पदार्थ सेवनबाट हृदयघात ४ प्रतिशत, दम १४ प्रतिशत, फोक्सोको क्यान्सर १६ प्रतिशत हुने सम्भावना भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले बताए । ग्रामिण क्षेत्रका अधिकांश नागरिकले सूर्तिजन्य पदार्थ सेवन गर्ने भएको हुँदा जनचेतनामुलक कार्यक्रम सरकारले सञ्चालन गर्न आवश्यक रहेको पनि डा. कोइरालाले औल्याए । उनले सूर्तिजन्य पदार्थमा व्यापक करवृद्धि गर्नुका साथै यसका प्रयाेगकर्तालाई बहिष्कार गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा वरिष्ठ छातिरोग विशेषज्ञ डा. रमेश चोख्यानीले सूर्तिजन्य पदार्थबाट छाती तथा फोक्सो सम्बन्धि रोग लाग्ने सम्भावना बढी भएको हुँदा यसको नियमन गर्नुपर्ने बताए । उनले गर्भवति महिला, बालबालिका, वृद्धवृद्धा, युवा कुनै पनि वर्गका लागि यसले असर गर्ने भएको हुँदा सबै नागरिकलाई प्रयोग नगर्नको लागि आग्रह गरे । सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगलाई सरकारले कडाईका साथ तोकिएको कर लागू गर्नुपर्ने र कानून तिव्रताका साथ कार्यान्वयनमा ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका हुन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सूर्तिजन्य पदार्थ नियन्त्रण निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सम्बन्धित निकाय लाग्नुपर्ने भन्दै आफू सभापति भएको हैसियतले व्यवस्थापिका संसदमा कुरा राख्ने बताइन् ।

यसैबीच, नेपालमा १६ प्रतिशत क्यान्सरका बिरामीले घर जग्गा बेचेर उपचार गरेको पाइएको छ । पाँच महिना लगाएर नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा एक्सन नेपाल नामक संस्थाले गरेको अनुसन्धानले यस्तो तथ्य उजागर गरेको हो । 

अनुसन्धानमा नेपालमा क्यान्सर रोगको उपचार हुने तीन ठूला अस्पताल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर हस्पताल हरिसिद्धमा तेस्रो तहको क्यान्सरको उपचार गराईरहेका १०३ जना विरामीलाई सहभागी गराइएको थियो । उनीहरुमध्ये १६ प्रतिशतले खर्चको अभावमा घर जग्गा बेच्न बाध्य भएको बताएका थिए । 

अनुसन्धानले नेपालमा एउटा क्यान्सरको विरामीका लागि ९ लाख ८१ हजार ३७० रुपैयाँ लाग्ने तथ्य समेत बाहिर ल्याएको छ । 

यस्तै अनुसन्धानले मुटु तथा रक्त नलिको उपचारमा एउटा विरामीका लागि औपात ७ लाख ९० हजार ९५५ रुपैयाँ खर्च लाग्ने गरेको पाइएको छ । मुटुरोगको उपचार हुने शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र नर्भिक अस्पतालमा गरिएको अनुसन्धानले सो तथ्य बाहिर ल्याएको हो । 

अनुसन्धान कार्यको नेतृत्व गरेका डा देवीप्रसाद प्रसाईँलेले कुल लागत खर्चमध्ये ६८ प्रतिशत औषधिमा खर्च हुने गरेको बताए ।  

स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र द यूनियनको सहकार्यमा भएको सूर्तिजन्य पदार्थको सेवनले लाग्ने मुटु तथा क्यान्सर रोग र यसको उपचारमा लाग्ने खर्चबारे गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिककरण कार्यक्रममा बोल्दै प्रमुख अनुसन्धानकर्ता प्रसाईले सूर्तिजन्य पदार्थको कारणले मुटु तथा क्यान्सरको उपचार भयावह अवस्था आएको बताए । 

कार्यक्रममा द यूनियनका एसिया प्यासेफिक क्षेत्रका उप निर्देशक डा तारासिंह बमले नेपालमा बर्षेनी २५ देखि ३० हजार नेपालीको मृत्युको कारक सूर्तिजन्य पदार्थ भएको भन्दै यसलाई रोक्न सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले सरकारी अधिकारीहरुलाई सूर्ति रोज्ने की स्वास्थ्य रोज्ने भन्दै प्रश्न समेत गरेका थिए । 

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोश भेन्डरसले सूर्तिजन्य पदार्थको प्रयोगले ज्यान लिने गरेको भन्दै यसको नियन्त्रणका लागि करको दर बढाउनुपर्ने बताए । उनले नेपालले सूर्तिजन्य पदार्थमा करको दर कम्तिमा ७५ प्रतिशत पुरयाउनुपर्ने बताए । 

शिक्षा तथा स्वास्थ्य समिति कसैको बहकाउमा नलाग्ने भन्दै उनले सबै नागरिकको हितमा काम गर्नेे बताइन् । कार्यक्रममा सांसद लेखराज भट्ट, अञ्जना विशंखे, निरु पाल, स्वास्थ्य मन्त्रालयका चिकित्सकहरुले सूर्तिजन्य पदार्थ नियन्त्रणको लागि आग्रह गर्ने बताएका थिए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका पदाधिकारी, सांसद, पत्रकार, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

Last modified on 2019-05-26 13:31:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts