अनसनरत नर्सले तोडे दश दिन लामो अनसन

लोक सेवामा असफल भएपनि कार्यरत नर्सहरुलाई विस्तारित सेवामा खटाइने



Download our app to get more features

काठमाडौं, ६ जेठ । दश दिनदेखि अनसनमा रहेका नर्सहरुले अनसन तोडेका छन् । सरकारसँग भएको दश बुँदे सहमति पछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले अनसन तोड्दै आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

सहमति सँगै नर्स डिक्की शेर्पा र जिता बरालको अनसन तोडिएको छ । शेर्पा प्रत्यारोपण केन्द्रमै अनसनमा थिइन् भने बराल बिपी स्मृति अस्पतालमा अनसनरत थिइन् ।

सहमतिका लागि प्रत्यारोपण केन्द्रमा आइतबार दिउसो ३ बजेदेखि झण्डै चार घण्टा लामो वार्ता चलेको थियो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेको संयोजकत्वमा भएको वार्तामा नेपाल नर्सिङ संघका अध्यक्ष तारा पोखरेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, अगुवा आङकाजी शेर्पा लगायतका पदाधिकारीहरु सहभागी थिए ।

दश बुँदामा सहमति भएपनि मुख्य बुँदा भनेको लोकसेवाको परीक्षा पछि केन्द्रमा कार्यरत नर्सहरुको सेवामा निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा केन्द्र प्रशासनले कार्यरत नर्सका लागि सेवा निरन्तरता दिने गरी सहमति भएको छ । अब लोक सेवाको परीक्षामा असफल भएपनि कार्यरत नर्सहरुलाई विस्तारित सेवामा खटाइने र रोजगारीमा निरन्तरता पाउने संघका अध्यक्ष पोखरेलले बताइन् ।

उनले भनिन् 'पछिल्लो पटक झै यसपटक पनि सहमति गरेर कार्यान्वयन गरिएन भने फेरि आन्दोलनमा उत्रने बाध्य हुनेछौं ।'

सरकारसँग भएको सहमतिका मुख्य बुँदाहरुमा केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने, केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने, प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने लगायतका रहेका छन् ।

Last modified on 2019-05-22 07:11:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts