गर्मी बढेसँगै कान्तिमा दोब्बर बिरामीः सहज उपचार नपाएको सेवाग्राहीको गुनासो
डाक्टर र नर्सको संख्या पाँच गुणा बढाउन आवश्यक

काठमाडौं, ३० वैशाख । हरेक बर्ष गर्मी बढेसंगै सबै अस्पतालमा बिरामीको चाप बढ्ने गर्दछ । जसमा नेपालको एक मात्र सरकारी बाल अस्पताल, कान्ति बाल अस्पताल महारजगञ्जमा अहिले बिरामीको भीड लाग्दै आएको छ ।
यहाँ दैनिक ११ सय भन्दा बढी बीरामी बालबालिका उपचारका लागि आउने गरेको अस्तपालले जानकारी दियो । तर, कान्ति बाल अस्पतालमा चिकित्सकको अभावदेखि विभिन्न समस्याले गर्दा प्रभावकारी उपचार सेवा पाउन नसकिरहेको जन गुनासो आइरहने गर्छ ।
झन् हाल गर्मी लागेसंगै विरामीको चाप बढेपछि अस्पताललाई बिरामीको चाप थेग्न हम्मेहम्मे परिरहेको छ ।
महाराजगञ्जस्थित कान्ति अस्पतालमा देशभरबाट बालबालिकालाई उपचारका लागि ल्याइन्छ । देशभरका अस्पतालमा उपचार हुँन नसकेका बालबालिका रेफर भएर आउने गरेको अस्पताल बताउँछ ।
बिरामी बालबालिकाको चाप दोब्बर
गत वर्ष साढे दुई लाख बिरामीले कान्ति अस्पतालबाट सेवा पाएका थिए । जसमध्ये १० हजार बिरामी भर्ना भएका थिए ।
यो बर्षपनि गर्मी बढेसंगै बालबालिकामा हुने विभिन्न किसिमका संक्रमणले कान्ति बाल अस्पताल बिरामी बालबालिकाले भरिएको छ ।
यसरी हेर्दा अहिले अरु समयभन्दा बालबालिकाको चाप दोब्बर बढेको छ । जाडोको समयमा दैनिक ६ सय बिरामी हुने कान्ति अस्पतालमा अहिले दैनिक ११ सय बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
कान्ति बाल अस्पतालको इमरजेन्सीदेखि, साधारण वार्डसम्म पनि बिरामीको चाप उत्तिकै छ ।
अस्पतालका चिकित्सकहरुका अनुसार गर्मी बढ्दै जाँदा बिरामीको संख्या जाडो मौसममा भन्दा दोब्बर हुने गर्छ । तर, बिरामीको चाप बढ्दै गएपनि चिकित्सक तथा नर्सहरुको संख्या भने घट्दै गएको छ ।
बिरामीको चाप अनुसार चिकित्सकको दरवन्दी नहुँदा कान्ति अस्पतालको सेवा प्रभावकारी बन्न नसकेको अस्पतालकै निर्देशक डा गणेशकुमार राई स्विकार्छन् ।
सेवाग्राहीको अपेक्षा अनुसार सेवा दिनलाई डाक्टर र नर्सको संख्या पाँच गुणा बढाउनुपर्ने अस्पतालका निर्देशक डा। राईले बताए ।
उनले गर्मि बढेसँगै अस्पतालमा झाडापखालाको बिरामी बढेको बताए । तर, पार्यप्त जनशक्ति नहुँदा सहज सेवा नपाएको बिरामीका अभिभावकको गुनासो छ ।
डा राईका अनुसार कान्ति बाल अस्पतालमा रगत सम्बन्धी क्यान्सर रोग, बालबालिकाको थाइराइडको समस्या, बाल दम, नशा सम्बन्धि रोग, दिउँसोको समयमा भर्ना नगरी डे केयर सेन्टर संचालन गरीएको छ ।
२ सय ६४ जनाको दरवन्दी रहेको कान्ति बाल अस्पतालमा हाल १ सय ७६ जनामात्रै कार्यरत छन् ।
अस्पतालमा ९७ जना चिकित्सक तथा कर्मचारी अस्पतालकै दरवन्दी अनुसार पनि रिक्त छन् ।
जसमा पनि मेडिकल अफिसर र नर्सहरु धेरै कम छन् । ३९ जनाको दरवन्दी रहेको कान्ति बाल अस्पतालमा जम्मा ३ जना मेडिकल अफिसर छन् ।
यसकारण स्वास्थ्य मन्त्रालयले बजेट नबढाएसम्म कान्ति अस्पतालको सुधार नहुने डा. राई बताउँछन् ।