गौतम बुद्ध सामुदायिक मुटु अस्पतालः क्याथ ल्याव सञ्चालनको दुई वर्षमा एक हजार बढीले लिए सेवा

रुपन्देही, २६ वैशाख । गौतमवुद्ध सामुदायिक मुटु अस्पतालमा क्याथ ल्याब सञ्चालनमा आएपछि एक हजार ५६ जनाले सेवा लिएका छन् ।
२०७४ साल बैशाखदेखि सञ्चालन गरिएको क्याथल्याबबाट एन्जियोप्लाष्टि, एन्जियोग्राफी र पेसमेकर गरी एक हजार ५६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।
दुई वर्षको अवधिमा दुई सय सातजनाको एन्जियोप्लाष्टी, सात सय पाँच जनाको एन्जियोग्राफी, तीन जनाको आरएचसि, २५ जनाको पेरिकार्डियोसेन्टेसिस र एक सय १६ जनाको पेसमेकर राखि उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल संचालनको साढे पाँचवर्ष र क्याथ ल्याब सेवा संचालनको दुईवर्षको अवधीमा अस्पतालले यसक्षेत्रका हजारौं मुटुका बिरामीहरुको विश्वास जित्न सफल भएको दावी गरेका छन् । उनले ५ नंं प्रदेशको राजधानी रुपन्देहीलाई स्वास्थ्यको केन्द्रको रुपमा स्थापित गर्न अस्पतालले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।
मुटुसँगै मृगौलाको समेत उपचार संचालन गरेको अस्पतालले छिट्टै नै थप तीनवटा जिल्लामा मृगौलाको डायलाईसिस युनिट संचालन गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिए । हाल बुटवल रामनगरमा २० वटा डायलाईसिस मेसिनबाट सेवा प्रदान भईरहेकोमा दाङ, पाल्पा र स्याङजाको वालिङबाट पनि १०÷१० वटा मेसिनबाट डायलाईसिस सेवा संचालन हुने तयारीमा रहेको छ । ती क्षेत्रमा डायलाईसिस युनिट सञ्चालन पछि त्यसक्षेत्रका बिरामीलाई निशुल्क डायलाईसिस सेवा लिन हजारौं रकम खर्च गरी र घण्टौंको यात्रा गरी बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । विपन्न वर्गका नागरिकलाई मुटु तथा मृगौलाको उपचारमा नेपाल सरकारले दिने सहुलियतको लागि सूचिकृत भई सेवा दिईरहेको छ ।
यसैवर्षदेखि नेपाल सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम र वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणको लागि पनि अस्पताललाई सूचिकृत गर्ने प्रकृयामा रहेको अध्यक्ष आलमले जानकारी दिए ।
अस्पतालका निर्देशक मुटुरोग विशेषज्ञ डा. समिर गौतमले क्याथल्याब सञ्चालन भएको दुईवर्ष पुरा भएपनि पूर्ण नभएको बताए । उनले केहि उपकरण थप गर्न सके मुटुको भल्व खुलाउने, मुटुको प्वाल बन्द गर्ने जस्ता सेवाहरु थप गर्न सकिने बताए । अर्का मुटुरोग विशेषज्ञ डा.मुरारी बाराकोटीले समय परिवर्तनसँगै स्वास्थ्य विज्ञानमा पनि नयाँनयाँ प्रयोगहरु हुने गरेको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि त्यस्ता सेवाहरु प्रदान गरिने बताए ।
२०७० पौष १० गते ९ बेडको सिसियू सहित २४ बेडबाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म झण्डै दुई लाख बिरामीले उपचार सेवा लिएका छन् । त्यस्तै ३ सय जना बिरामीको नियमीत डायलाइसिस सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।