सर्लाहीमा दादुराको प्रकोप बढ्याे, ४ परिवारमा दादुराको संक्रमण

जनकपुर, वैशाख २६ । खोप लगाए देवीदेवता रिसाउँछन् भन्ने अन्धविश्वास प्रदेश २ का विभिन्न जिल्लामा अझैंपनि कायमै रहँदा दादुराको संक्रमण बढ्नो देखिएको छ ।
खोप लगाउँदा देवी देवता रिसाउने मान्यतालाई स्वीकार्दा सर्लाहीको हरिवन नगरपालिका–३, सासापुर डाबरीका चार परिवार दादुरको संक्रमणबाट पीडित भएका छन् ।
स्थानीय भिखारी साह, लक्ष्मेश्वर साह, कुशेश्वर साह र चरित्र साहको परिवारका १८ जनामा एकैसाथ दादुराको प्रकोप देखा परेको हो । सर्लाही मात्रै होइन धनुषा, महोत्तरी, सिरहा समेतका जिल्लामा पनि दादुराको खोप नलगाउँदा दादुरा संक्रमितको संख्या बढ्दो छ ।
दादुरा रोग लागेपछि उपचार भन्दा पनि घरमै बालबालिका र अन्य व्यक्तिलाई पनि राख्ने हुँदा बिरामीको यकिन तथ्यांक पत्ता लाग्न नसकेको प्रदेश स्वास्थ्य महाशाखाको कार्यालयले जनाएको छ ।
गोसाई कुलदेवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण स्थानीय केही परिवारले बालबालिकालाई ९ र १५ महिनामा लगाउनुपर्ने विभिन्न रोगविरुद्धको कुनैपनि खोप हालसम्म नलगाएको पाइएको छ ।
स्थानीय स्वास्थ्य स्वयम सेविकाहरु बालबालिकालाई खोप लगाउन घरदैलोमा जाँदा समेत डाबरी गाउँका केही परिवारले खोप लगाउन अस्वीकार गर्दै आएका छन् ।
स्वास्थ्य स्वयं सेविका मार्फत नै डाबरी गाउँमा दादुराका संक्रमित फेला परेको जानकारी आएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए । उनले त्यहाँ दादुराका बिरामी फेला परेको जानकारी पाउनासाथ जनप्रतिनिधी सहित स्थलगल निरीक्षण गरिएको जानकारी दिए ।
त्यसक्रममा १८ जनामध्ये पाँच जना दादुराबाट बढी ग्रसित रहेको पाइएको छ । स्थलगत निरीक्षण गरी संक्रमितमध्ये ९ जनाको रगत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाइएको स्वास्थ्य शाखा संयोजक चौधरीले बताए ।
बिरामीको लक्षणका आधारमा घरमै पुगेर एन्टिवायोटिक, भिटामिन, बी–कमप्लेक्स र आवश्यक औषधी प्रदान गरिएको सासापुर स्वास्थ्य चौकीले जनाएको छ ।