प्रदेश नं ५ले दुई चरणमा तीन सय ७१ आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने
टाइप ए र टाइप बीका दुईथरी संस्था बनाइने

रुपन्देही २५ वैशाख । प्रदेश नं ५ सरकारले १२ जिल्लामा तीन सय ७१ स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ ।
स्वास्थ्य संस्था नभएका वडाहरुमा निर्माण गरिने भएको हो । पहिलो चरणमा एक सय ७५ स्वास्थ्य संस्था र दोश्रो चरणमा एक सय ९२ नयाँ आधारभुत स्वास्थ्य संस्था निर्माण गर्न लागिएको हो । संघीय सरकारकाले प्रदेशलाई नयाँ वडामा स्वास्थ्य संस्था बनाउनको लागी जग्गा, दरबन्दी र आवश्यक बजेट समेत विनियोजन गरेको समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।
समाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र कुमार पाण्डेका अनुसार पहिलो चरणमा गुल्मीमा ६, पाल्पामा ७, पश्चिम नबलपरासीमा २०, रुपन्देहीमा ४४, अर्घाखाचीमा १२, प्युठानमा ५, दाङमा ३९, बाँकेमा १७, बर्दिमा २५, नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण हुने छन् । त्यस्तै, दोस्रो चरणमा गुल्मीमा ९, पाल्पामा ८, पश्चिम नबलपरासीमा १५, रुपन्देहीमा ३८, कपिलबस्तुमा २३, अर्घाखाचीमा ६, प्युठानमा १०, रोल्पामा २२, पुर्वीरुकुमा २२, दाङमा १५, बाकेमा १८ र बर्दिमा १७ नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण हुने मन्त्रालयले जनाएको छ ।
दुई थरीका भवन निर्माण गर्ने कार्ययोजना
मन्त्रालयले जनसंख्याका आधारमा टाइप १ र टाइप २ गरी दुई थरीका भवन निर्माण गर्ने कार्ययोजना बनाएको छ । वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई मन्त्रालयले टाइप १ अन्र्तगत राखेको छ । त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ । जसलाई टाइप २ मा राखिएको छ । टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन ।
तीन किस्तामा बजेट
आधारभूत स्वास्थ्य भवन निर्माणका लागि तीन किस्तामा बजेट उपलब्ध गराइने छ । पहिलो किस्तामा ४० प्रतिशत, दोस्रो र तेस्रो किस्तामा ३०/३० प्रतिशत बजेट उपलब्ध हुनेछ । प्रदेशमा बजेट पठाउने विषयमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाएको छ ।
दरबन्दी भने एचए वा अहेब, स्टाफ नर्से वा अनमी र एक जना कार्यालय सहयोगी रहने छ । दरबन्दीको लागी आवश्यक मौजुदा भए त्यसबाट र नभए समाजिक बिकास मन्त्रालयले करार ऐन नियामावली अनुसार कर्मचारी भर्ना लिई सेवा संञ्चालन गर्ने आधारभूत स्वास्थ्य सेवा ऐनमा उल्लेख रहेको छ ।