क्रिमसन अस्पतालमा डबल चेम्बर पेसमेकरको सफल प्रत्यारोपण

तिलोत्तमा, वैशाख २५ । रुपन्देहीको तिलोत्तमा–५, मणिग्राममा रहेको क्रिमसन अस्पतालले डबल चेम्बर पेसमेकरको सफल प्रत्यारोपण गरेको छ । अस्पतालले पहिलो पटक तिलोत्तमाका माकर गुप्ताको मुटुमा डबल चेम्बर पेसमेकर प्रत्यारोपण गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले जानकारी दिए ।
बिरामीलाई छाती दुख्ने, स्वा स्वा हुने, चक्कर लाग्ने लगायतका समस्या देखिएका थिए । मुटुको इसिजीमा धड्कन कमजोर भएको पाइएपछि एन्जियोग्राफी गरिएकोमा तत्काल क्रोनरी नसाको शल्यक्रिया गर्नु नपर्ने देखिएपछि पेसमेकर प्रत्यारोपण गरिएको हो ।
अस्पतालले धेरै मुटु रोगीमा सिङ्गल चेम्बर पेसमेकर प्रत्यारोपण गरे पनि डबल चेम्बर पेसमेकर पहिलो पटक प्रत्यारोपण गरेको जनकारी दिएको छ । डा. दुवेकाअनुसार तुलनात्मक रुपमा केही खर्चिलो भए पनि दीर्घकालिन फाइदाका कारण बिरामीहरुलाई सिङ्गल भन्दा डबल चेम्बर पेसमेकर राख्न सल्लाह दिइन्छ ।
डा. दुवे नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित टोलीले दुई घण्टामा पेसमेकर प्रत्यारोपण गरेको हो । चिकित्सकका अनुसार डबल पेसमेकरमा मुटुको दुवै कोठालाई तार राखेर ब्याट्रीबाट चलाइन्छ । यस्ले बिरामीलाई दीर्घकालीन रुपमा राम्रो गर्छ । आफ्नो गाउँघरमैं मुटु रोगको सम्पूर्ण सेवा उपलब्ध भएकोमा बिरामीका आफन्तले खुशी व्यक्त गरेका छन् ।
क्रिमसन अस्पतालले विभिन्न स्वास्थ्य सेवासँगै मुटु रोग सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको पनि डा. दुवेले जानकारी दिए । क्रिमसनमा नेपाल सरकारले उपलब्ध गराउने विपन्न नागरिक औषधि उपचार सेवा पनि उपलब्ध छ । यो सेवामार्फत् मुटुको एन्जियोप्लाष्टी तथा पेसकेमर जडान गर्नुपर्ने बिरामीले एक लाख रुपैंयाँ सम्मको छुट सुविधा प्राप्त गर्न सक्छन् । छोटो समयमा नैं हालसम्म क्रिमसन अस्पतालमा ६ सय जनाको मुटुको शल्यक्रिया गरिएको डा. दुवेले बताए ।