कर्पोरेट अस्पताल : लगानी कम छैन, तर विश्वसनीयता र गुणस्तर !



Download our app to get more features

काठमाडौं, २४ वैशाख । सन् १९८० को दशकपछि आर्थिक उदारीकरणको अवधारणा विश्वव्यापी रूपमा विस्तार भयो । विश्व विकास प्रतिवेदन अनुसार उदारीकरण भन्नाले अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्दै व्यापार तथा बजारलाई सरकारी नियन्त्रणबाट स्वतन्त्र पार्नु हो । उदारीकरणपछिको उदार पुँजीवादले खुला बजार र व्यक्तिगत स्वामित्वलाई जोड दियो । पुँजीवादी अर्थ व्यवस्था भएका मुलुकहरूमा औधोगिकीकरण, शहरीकरण, एवम् उच्च प्रविधिको विकास र बिस्तार भए । वास्तवमा उदार पुँजीवादले सम्पूर्ण मानव स्वतन्त्रतामा जोड दियो । यसले व्यक्तिवादिता र सिर्जनात्मकतालाई महत्वपूर्ण विषयको रुपमा लियो । उदार पुँजीवादी व्यवस्थाका कारण कतिपय देशहरूमा नयाँ व्यवसायको उदय, व्यवसायमा दक्ष जनशक्तिको वृद्धि र रोजगारी वृद्धि हुन गइ समग्र जीवनस्तरमै सुधार भएका छन् र हुने क्रममा पनि छन् । 

स्वास्थ्य सेवामा उदारीकरण
नेपालमा पनि आर्थिक उदारीकरणको प्रभाव सम्पूर्ण क्षेत्रमा  उल्लेख्य रूपमा पर्दै आएको छ । विशेषगरी नेपालको मेडिकल क्षेत्रमा उदारीकरणको प्रभाव अझै बढ्दो छ । जसले एक दशक अगाडिसम्म निर्विकल्प सरकारी अस्पताल अहिले निजीसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका उच्च घरानीयाहरू अस्पतालमा लगानी गर्न उत्साहित बनेका छन् । अझै भन्ने हो भने  नेपालका हरेकजसो निजी अस्पतालमा यस्तै वर्गको कुनै न कुनै रुपमा लगानी छ । यस्ता लगानीकर्ताले नेपालका निजी अस्पताल अन्तराष्ट्रिय स्तरका रहेको दावी गरिरहेका छन् । तर वर्षाको च्याउ जस्तै खुलेका ती स्वास्थ्य संस्थाको अस्वस्थ प्रतिस्पर्धाले के रुप लेला ? यस्ता अस्पतालको सेवा कस्तो होला ? यसको जवाफ सेवाग्राहीको अधिकार हो । तर ‘अन्तर्राष्ट्रिय स्तरका’ भनिएका अस्पतालको सेवा सबै नागरिकको पँहुचमा छ त ? सेवाको मुल्य अनुसारको गुणस्तर कस्तो छ ? जस्ता विषय बारे सूचना दिनु अस्पताल व्यवस्थापनको कर्तव्य पनि हो । 

कार्पोरेट अस्पताल ः प्रमुख उदेश्य नाफा
निजी अस्पतालहरूले आफूलाई अन्तर्राष्ट्रिय स्तरको दावी गरिरहेको बेला स्वास्थ्य अर्थशास्त्रीहरू भने त्यसलाई मान्न तयार छैनन् । कार्पोरेट जस्तो देखिए पनि प्रमुख उदेश्य नाफा कमाउनु हुने गरेको उनीहरू बताउँछन् ।

स्वास्थ्य अर्थशास्त्री गुन्जबहादुर बिसीका अनुसार नेपालका निजी अस्पताल अत्यन्तै महंगो र गुणस्तरी सेवा पनि नभएको आरोप लगाउँछन् । यी अस्पतालले करिब २० प्रतिशत बिरामीलाई सेवा दिइरहे पनि ८० प्रतिशतलाई सेवा पु¥याउने अस्पतालमा भन्दा कर्यौ गुना तामझाँम देखाइरहेको उनी बताउँछन् । यस्ता अस्पतालले त्यो समूहलाई उपचार सेवा दिइरहेको छ जसलाई पैसाको कुनै मतलब छैन । अर्थात उनीहरू जुनसुकै स्थानमा गएर पनि उपचार गराउँन सक्छन् । निजी अर्थात कर्पोरेट अस्पतालले गरेको एउटा राम्रो काम भनेको यस्तै समुदायको पैसा विदेशीनबाट रोकेको छ । आमनागरिकसँग निजी अस्पतालको खासै लेनादेना नभएको उनी बताउँछन् ।  

स्वास्थ्य अर्थशस्त्री बिसीका अनुसार केही निजी अस्पतालले रोजगारीको अवसर पनि दिइरेका छन् । ‘निजी अस्पतालले केही हदसम्म रोजगारीको वातावरण सिर्जना गरेका छन् । नेपालमै उत्पादन भएका केही जनशक्ति विदेश जानबाट रोकिएका छन् ।’ उनले भने । 


उद्योगी, व्यवसायीको आँखा अस्पतालमै किन ?
स्वास्थ्य अर्थशास्त्री बिसी ठूला उद्योगी र व्यवसायी समेत निजी अस्पतालमा लगानी गर्न तम्सनुलाई राम्रो मान्दैनन् । ‘देशका ठूला नाम चलेका उद्योग र नाम चलेका डाक्टरहरू नै अस्पताल खोल्ने किन लागेका छन् ।’ उनले थपे, ‘सेवा नै गर्ने हो भने त्यत्रो लगानी किन ? नेपालको जुनसुकै गाउँमा गए भइहाल्यो ।’
निजी अस्पतालहरूले गरिब बिरामी देख्ने बितिकै अस्पतालको गेट  भित्र पस्न पनि नदिने गरेको तितो अनुभव रहेको बिसी बताउँछन् । यदि कुनै बिरामी अस्पतालसम्म पुग्छ भने अस्पतालको सेवा शुल्क महंगो भएकै कारण बिनाउपचार फर्कनु बिरामीमाथिको अपराध हो । 
निजी अस्पताल खुल्ने बेलामा सरकारसँग गरेको प्रतिबद्धता समेत पुरा भएका पाइदैनन् । बिसीका अनुसार १० प्रतिशत निःशुल्क शैयाको व्यवस्था निजी अस्पतालमा हुनु पर्ने हो तर यसो कहि छैन । सरकारी अनुगमन टोली आउदैं छ भन्ने सुइको पाइहालेमा देखाउनको लागि मात्रै तयार गर्ने प्रचलन बढ्दो छ । 

गुणस्तरीय सेवामा निजीको छलाङ्ग :  भण्डारी
धुम्बराही स्थित हेम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी नेपालमा निजी अस्पताल अस्तित्वमा आएपछि बिरामीले शैया अभावमा उपचारबाट बन्चित हुने पर्ने अवस्थाको अन्त्य भएको बताउँछन् । उनी नेपालमा निजी अस्पतालहरू आएसँगै नेपालीको स्वास्थ्यमा पनि छलाङ्ङ मारिरहको दावी गर्छन । उनी अझै नेपालमा निजी अस्पताल अझै थप्नु पर्ने बताउँछन् । केही समययता निजी अस्पताल भनेकै गुणस्तरीय, छिटो उपचार भन्ने भइरहेको उनको भनाइ छ । बिरामीलाई हाँसेर बिदा गर्नुको मुल्य कसैले तिर्न नसक्ने उनी बताउँछन् । उनले भने ‘बिरामीले हाँसीहाँसी शुल्क तिर्छ भने यो भन्दा ठूलो उपलब्धी के होला ?’

अस्पताल अर्थात बजार 

भण्डारी सर्वसाधरणकै विश्वासका कारण निजी अस्पताल थपिइरहेको बताउँछन् । ‘सर्वसाधारणमा स्वास्थ्य चेतना बढ्दै गएको छ । उनीहरू स्वास्थ्य र शिक्षा लगानी गर्न पछि हट्दैनन । यसकारण अस्पतालको बजार बढ्दै गएको छ ।’ उनले भने । निजी अस्पतालको गुणस्तर अनुसार सेवा शुल्क उपयुक्त नै रहेको उनको दावी छ । 

उनी अब नेपालमा भएका निजी अस्पतालको ग्रेडिङ गर्नुपर्ने अवस्था आएको बताउँछन् । डाक्टर, मेडिकल इक्युप्मेन्ट र अस्पताल भवनको आधारमा अस्पतालको श्रेणी निधारण गर्नुपर्ने उनको सुझाव छ । साथै अस्पतालको श्रेणी निर्धारण गर्ने पुरानो मापदण्डलाई पनि परिवर्तन गरिनुपर्ने उनले भनाइ छ । 

(हाम्रो डाक्टर मासिक)

Last modified on 2019-05-07 15:16:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts