एलोपेथीको विकल्पः आयुर्वेदिक उपचार

काठमाडौं २३ वैशाख । परापूर्व कालदेखि चल्दै आएको चिकित्सा पद्धति मध्ये आयुर्वेदिक पनि एक हो । सदियौंदेखि चल्दै आए पनि नेपालमा यसको विकास गति राम्रो हुन सकेको छैन ।
आयुर्वेदिक औषधि प्रयोगबाट विभिन्न जटिल रोग निको भएकै कारण यसप्रति जनविश्वास बढिरहेको छ । तर सरकारले भने आयुर्वेद चिकित्सा प्रणालीमा लगानी गर्न हिच्किचाइरहेको छ ।
नागरिकले एलोपेथीमा उपचार गराएर निको नभएर अन्तिम विकल्पको रुपमा आयुर्वेदलाई लिने गरेका छन् ।
तर, आयुर्वेद उपचार पद्धतिमा औषधि नपाउने तथा लामो समय औषधिको प्रयोग पश्चात मात्रै निको हुने हुँदा बिरामीमा निराशा देखिने गरेको छ ।
नेपालमा आयुर्वेद औषधालय र आयुर्वेद केन्द्रको संरचना हेर्ने हो भने थपिएका दुई जिल्ला बाहेक ७५ जिल्लामा आयुर्वेद केन्द्र र औषधालय छन् । जसमा सरकारले उत्पादन गर्ने औषधि निःशुल्क पाइन्छ ।
औषधि व्यवस्था विभागका अनुसार नेपालममा ७० वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । तर, ती औषधि उद्योगले जुन रुपमा आफूलाई बजारमा स्थापित गराउनु पर्ने हो त्यो गर्न सकेको छैन ।
आयुर्वेद व्यवस्था विभागका अनुसार सरकारले आयुर्वेदिक औषधि खरिदका लागि भन्दै गतवर्ष करिब तीन करोड बजेट छुट्याएको थियो ।
विभागका निर्देशक डा. वासुदेव उपाध्यायका अनुसार आयुर्वेद औषधिमा सरकारको लगानी निरन्तर बढिरहेको छ । तर, बिरामीले अझै सहज रुपमा आयुर्वेदिक औषधि पाउन सकेका छैनन् । जसले गर्दा बिरामीले जुन रुपमा आयुर्वेद औषधिमा ध्यान दिनुपर्ने हो र त्यसको लाभ लिनु पर्ने हो त्यो हुन सकेको छैन ।
आयुर्वेद औषधिमा बिरामीको विश्वास बढे पनि औषधि अभाव
नारायणप्रसाद ढकाल
निर्देशक, औषधि व्यवस्था विभाग
समयमा औषधि र उपचार नपाउँदा आयुर्वेद उपचार पद्धति र औषधिमा जनविश्वास घटेको छैन । यसको पुष्टि नरदेवी आयुर्वेदिक औषधालयमा आउने बिरामीबाट हुन्छ । यहाँ आउने अधिकांश बिरामीको नरदेवी अन्तिम विकल्प हुन्छ ।
आयुर्वेद औषधिमा बिरामीको विश्वास बढ्नुको प्रमुख कारण यसको साइड इफेक्ट नहुनु हो । यसको प्रभाव ढिलोगरि परे पनि लामो समयका लागि रोग निको हुन्छ ।
कुनै पनि रोगलाई जरैदेखि निको पार्न आयुर्वेदिक औषधि उपयोगी हुने बिरामीहरूको भनाइ छ ।
समयदेखि हिँडडुल गर्न नसक्ने, पाचन प्रणालीमा समस्या आउने, पाइल्स, गेठिया, हाडजोर्नी लगायतका अन्य थुप्रै समस्यामा बिरामी आयुर्वेदिक औषधिको प्रयोग गर्न रुचाउँछन् ।
आयुर्वेदिक औषधिको प्रयोग गर्ने बित्तिकै त्यसको असर नदेखिँदा पनि बिरामीका लागि आयुर्वेदिक औषधि भने पछिल्लो समय निकै उपयोगी बनेको छ ।
तर, नेपालमा आठ सय भन्दा बढी जडिबुटि पाइए पनि जुन रुपमा आयुर्वेदिक औषधिको उत्पादन हुनु पर्ने हो त्यो हुन नसक्दा बिरामी समस्यामा पर्ने गरेका छन् ।
अहिले पनि नेपालका ७० आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगले गुणस्तरीय र विश्वासिलो औषधि उत्पादन गर्न नसक्दा बिरामी विदेशी औषधिको प्रयोग गर्न बाध्य छन् ।
सिंहदरवार वैद्यखानाले उत्पादन गर्ने एक सय १२ प्रकारका औषधिले बिरामीलाई अपुग छ ।