गंगालाल अस्पतालमा चिकित्सकको लापरवाही, ‘ओ’ पोजेटिभ ब्लडको साटो ‘ए’ पोजेटिभ चढाइयो

काठमाडौं, २३ वैशाख । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा गम्भिर बनेकी बालिकाको उपचार जारी छ ।
अस्पताल प्रसाशनमा बुझ्दा गलत रगत दिनु लापरवाही भएको छ र बच्चाको अवस्था गम्भिर छ । तर, डाक्टरहरु उनको उचारमा लागि परेका छन् ।
सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको शल्यक्रियाको क्रममा ‘ओ’ पोजेटिभ ब्लड चढाउनु पर्नेमा ‘ए’ पोजेटिभ ब्लड चढाइउँदा अवस्था गम्भिर बनेको छ ।
अस्पतालको मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ लेखिएको छ । रगत चढाइएको रिपोर्टमा भने ‘ए’ पोजिटिभ लेखिएको छ । मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । १७ गते उनको शल्यक्रिया गरिएको थियो ।
अवस्था गम्भीर भएपछि अस्पतालले बिरामीलाई भेट्न नदिएको आफन्तको गुनासो छ । गलत रगत चढाइएकोबारे खोजीनिती गर्न थालेपछि बिरामी पक्ष र अस्पताल प्रशासनसबीच विवाद भइरहेको छ ।
बालिकालाई शल्यक्रियामा लगिनुअघि बिरामीका आफन्तसँग लिइएको सहमतिमा डा. ज्योतिन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिम्ले र डा. नवीनचन्द्र गौतमले शल्यक्रिया गर्ने उल्लेख छ । अस्पतालका निर्देशक समेत रहेका डा. शर्माले भने शल्यक्रियामा आफू संलग्न नभएको बताए ।
‘यो घटनाबारे मलाई धेरै थाहा छैन, अस्पतालमा छानबिन समिति बनाएर अनुसन्धान गराउनेछु,’ अस्पतालका निर्देशक समेत रहेका डा.शर्माले भने, ‘अनुसन्धानपछि जसबाट गल्ती भएको छ, उसलाई कारबाही गरिनेछ । बच्चाको शल्यक्रिया नै जटिल थियो । ओपन हर्ट सर्जरी जटिल नै हुन्छ ।’
शल्यक्रिया गर्नुअघि बेहोस गराउँदाको (एनेस्थेसिया) रिपोर्टमा पनि बालिकाको रक्तसमूह ‘ओ’ पोजिटिभ नै उल्लेख छ । अस्पतालको प्रयोगशालमा लिइएको रिपोर्टमा पनि उही रक्तसमूह टिपिएको छ ।