दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा तेह्रथुम आयुर्वेद अस्पतालमा सेवा प्रवाहमा समस्या

तेह्रथुम, २३ वैशाख । जिल्ला आयुर्वेद अस्पतालमा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या भएको छ ।
पछिल्लो समय आयुर्वेद उपचारका लागि बिरामीहरु जान थालेपनि स्वास्थ्यकर्मी नहुँदा भने समस्या भएको हो ।
विभिन्न ३० प्रकारका रोगको उपचार गर्दै आएको जिल्ला आयुर्वेद औषधालय तेह्रथुममा दैनिक २५ जना भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । तर दरवन्दी अनुसारका डाक्टर, कवीराज र वैद्य नहँुदा उपचारमा समस्या भएको कार्यालय प्रमुख डाक्टर राजकुमार मिश्रले बताए ।
स्वासप्रश्वास, दम, अमलपित्त, ग्याष्ट्रिक, मधुमेह, जण्डिस, रक्तचाप, वाथ, छालाजन्य रोग, मुत्रजन्य रोग, नाक, कान, घाँटी, पायल्स्, पिनास, हातखुट्टाका जोर्नी दुख्ने लगायतका रोगबाट प्रभावित बिरामीले आयुर्वेदिक उपचार पद्धती रोज्ने गरेका डाक्टर मिश्रले बताए ।
सात जना आयुर्वेद स्वास्थ्यकर्मीको दरवन्दी रहेको जिल्ला आयुर्वेद औषधालयमा लामो समय देखी एकजना डाक्टर र एक जना कवीराज मात्रै काम गरिरहेका छन् ।