अस्पतालमै बच्चा छाड्ने पूर्व सांसद साह प्रहरी नियन्त्रणमा, फौजदारी अपराध संहिता २०७४ अनुसार कारबाही हुने

काठमाडौं, २३ वैशाख । पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाटै नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले पक्राउ परेका सभासद साहलाई सातदोबाटा र राजेशलाई जावलाखेलमा राखिएको बताए ।
वैशाख १३ गते मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा साह दम्पत्ती पक्राउ परेको चिमोरियाले बताए । मेडिसिटी अस्पतालले दिएको उजुरीमा आफ्नो सन्तान अस्पतालमै छोड्नु गैरकानुनी भएको उल्लेख गरिएको छ ।
प्रहरीले उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १८१ को उपदफा (१) अनुसार कारबाही हुने बताएको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८४ (१) अनुसार उनीविरुद्ध मुद्दा चल्ने प्रहरीले बताएको छ। १८४ मा ‘आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने’ उल्लेख छ । यो दफाको उपदफा १ मा ‘कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन’ भन्ने व्यवस्था उल्लेख छ। उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने संहितामा व्यवस्था छ ।
गायत्री साहले मेडिसिटी अस्पतालमा गत वर्ष फागुन २८ गते बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएपछिको रिपोर्टमा अस्पतालले शिशुको स्वास्थ्य अवस्था ठिक रहेको जनाएको थियो। तर, केही दिनपछि अस्पतालले नै भारतमा पठाएको नमुना परीक्षणबाट शिशुमा डाउन सिन्ड्रोम रहेको खुलेको थियो ।
त्यसपछि साह दम्पत्तिले डा. निरासिंह श्रेष्ठ र उनी कार्यरत मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीको सिकार आफूहरु भएको भन्दै शिशुको डिस्चार्ज लेटर लिन अस्वीकार गरेका थिए । उनीहरुले अझैसम्म पनि डिस्चार्ज लेटर लिएका छैनन् । यही विषयलाई लिएर अस्पतालले उनीहरुविरुद्ध उजुरी दिएको थियो ।