ट्रमा सेन्टर : जहाँ एमआरआई र सिटी स्क्यान समेत छैनन्



Download our app to get more features

काठमाडौं, २२ वैशाख । सडक दुर्घटनाका घाइतेको उपचारका लागि निकै महत्व दिइ स्थापित राष्ट्रिय ट्रमा सेन्टर तीन बर्षदेखि एमआरआई मेसिनविहिन छ । भारत सरकारको सहयोगमा ०७२ सालबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहने गरी सेन्टर संचालनमा आएको हो । 

सेन्टरमा दैनिक करीब १५ जना बिरामी एमआरआई गर्नुपर्ने अवस्थाका आउँछन् । तर, मेसीन नहुँदा अन्यन्त्र पठाउनुपर्ने बाध्यता रहेको रेडियोलोजी इन्चार्ज दामोदर रोक्का बताउँछन् । ‘हामी कहाँ एमआरआई मेसिन छैन । बिरामीलाई एमआरआई गर्न बाहिर पठाउदै आएका छौं । बाहिर एमआरआई गराउँदाकम्तिमा २० हजार तिर्नुपर्छ,’ उनी भन्छन् । सेन्टरका बिरामी वीर अस्पतालमा समेत एमआरआईका लागि पठाइने गरिएको छ । तर वीरले ट्रमाले पठाएका बिरामीलाई महत्व नदिएको रोक्काको भनाई छ । ‘त्यसकारण प्राइभेट मै बिरामी धेरै पठाउँछौ । ‘वीरमा मेसीन छ तर ९ देखि ४ बजेसम्म मात्रै एमआरआई गरिदिन्छ । हामीले २४ सै घण्टा विरामीलाई एमआरआईका लागि पठाउनुपर्ने हुन्छ,’ उनले भने । 

एमआरआई मेसिन खरिद गर्नका लागि ट्रमा सेन्टरले पटक–पटक आग्रह गरे पनि स्वास्थ्य मन्त्रालयले चासो देखाएको छैन । एमआरआई खरिद गर्न कम्तीमा २० करोड लाग्ने सेन्टरकले जनाएको छ । 

ट्रमा सेन्टरमा अहिले एउटा मात्रै एक्स–रे मेसिन छ । एउटा मेसिन ६ महिनादेखि बिग्रिएर थन्किएको छ । ओपिडीमा प्रयोग भइरहेको एक्स–रे मेसिनबाट दैनिक १७० भन्दा बढी एक्स–रे हुने गरेका छन् । इमर्जेन्सीमा भने फ्रोडोस्कोपी मेसिनबाट एक्स–रे गर्ने गरिएको छ । जबकी फ्रोडोस्कोपी पेट लगायतभित्र अंगका समस्या पत्ता लगाउन प्रयोग हुने हुन्छ । ‘बाध्यतामा काम चलाउन मात्रै प्रयोग भइरहेको छ,’ रोक्काले भने, ‘यसरी जथाभावी एक्स–रे गर्दा तीन करोड भन्दा बढी मुल्य पर्ने सो मेसिन पनि बिग्रने अवस्थामा छ । भएको एउटा एक्स–रे र फ्रोडोस्कोपी मेसिन पनि बिग्रिए हामी एक्स–रेविहिन हुनेछौं,’ रोक्काले भने । उपकरण अभावमा सेन्टरमा रहेका अएमआराई, सिटी स्क्यान गर्न दक्ष जनशक्ति पनि एक्स–रे गरेर बसिरहनु परेको दुखेसो पोख्छन् ।

दुई महिनादेखि सिटी स्क्यानविहिन
एमआरआइ मात्रै होइन ट्रमा सेन्टरमा सिटी स्क्यान मेशिन पनि बिग्रिएर थन्किएको छ । दुई महिनायता सिटी स्क्यानका लागि बिरामी बाहिर पठाउने गरिएको छ । ‘सिटी स्क्यानको ट्युब बिग्रिएको छ । बनाउने क्षमता हामीसँग छैन । मन्त्रालयले चासो देखाएन,’ रोक्काले भने । सिटी स्क्यान मर्मतका लागि करिब ९० लाख लाग्न सक्ने सेन्टरको अनुमान छ । ‘बजेट छैन भनेर मन्त्रालयले टार्ने गरेको छ । औपचारिक र अनौपचारिक रुपमा पटक–पटक आग्रह गर्दा पनि सुनुवाई भएन,’ रोक्काले भने । 

सेन्टरमा तीन वर्ष अघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) पनि सञ्चालनमा आउन सकेको छैन । यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि एक वर्षदेखि थन्किएको छ । 

सेन्टरलाई क्याथ ल्याब भारतले अनुदानमा दिएको हो । तर, हालसम्म संचालनमा आउन सकेको छैन । मेसिन ०७२ सालमै आएको भए पनि जडान समेत हुन नसकेको सेन्टरले जनाएको छ । क्याथ ल्याब संचालनका लागि आवश्यक जनशक्ति नहुँदा संचालनमा ल्याउन नसकिएको रोक्काको भनाइ छ । मुटुको उपचार गर्न ल्याइएको क्याथ ल्याब मेसिन राख्ने कोठा अभावमा जडान गर्न नसकिएकाले थन्किएको छ ।

कान्ति बाल अस्पतालमा उस्तै हाल
कान्ति बाल अस्पतालमा म्याद सकिएका मेसिनबाट सिटी स्क्यान हुने गरेको छ । कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । म्याद गुज्रिएको तीन वर्ष भइसक्दा समेत अस्पतालले सोही मेसिनबाट सिटी स्क्यान गराइरहेको छ । अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन । उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटक–पटक ताकेता गरेको छ । तर, अघिल्लो वर्ष भन्दा बजेट घटेको अस्पताल प्रसासनले जनाएको छ । सरकारले गतवर्ष २१ करोड ८४ लाख बजेट अस्पताललाई दिएको थियो । तर, यो वर्ष १२ प्रतिशत घटाएर १९ करोड २० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।   

कान्तिमा अहिले चलिरहेको सिटी स्क्यान मेसिन १६ स्लाइसको छ । जब कि निजी अस्पतालमा ५ सय स्लाइससम्मका मेसिन सञ्चालनमा छन् । अन्य केही सरकारी अस्पतालमा पनि १ सय २८ स्लाइससम्मका सिटी स्क्यान मेशिन छन् । कम स्लाइसको सिटी स्क्यान मेसिनको रोग पहिचान गर्ने क्षमता कम हुन्छ । मनिटर, भेन्टिलेटर, मुटु र श्वासप्रश्वास जाँच गर्ने उपकरण पनि छैन । 

कान्तिमा ५२ शैय्याको आइसियू उद्घाटन भए पनि १५ शैय्या चलेका छैनन् । दिनमा ६–७ जना बालबालिकालाई अन्यत्र रिफर गरिदै आएको अस्पतालका एक कर्मचारीले बताए । अस्पतालमा भएको एक्स रे मेशिन पनि १५ वर्ष पुरानो छ । बिरामीलाई निमोनिया भए–नभएको छुट्याउन यो एक्सरेले सक्दैन । त्यो पनि प्रायः बिग्रियको अवस्थामा हुन्छ । वैकल्पिक एक्स रे यति पुरानो छ जसले खिचेका तस्बिर पानीमा धुलाउनुपर्छ । 

कान्ति बाल अस्पतालमा पनि ट्रमा सेन्टरमा जस्तै एमआरआई मेसिन छैन । यस्तै प्याथोलोजिस्ट अभावमा जटिल रोगको पहिचान गर्न समस्या छ । १०औँ र ११औँ तहको एक गरी दुई प्याथोलोजिस्टको दरबन्दी छ, तर खाली छ । त्यसैले अस्पताल भर्ना भएका बालबालिकालाई स्वास्थ्य परीक्षण गर्न निजी अस्पतालमा लग्नुपर्ने बाध्यता छ । 

तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले कान्तिबाल अस्पतालमा ५२ शैय्याको आइसियू सञ्चालनको उद्घाटन गरेका थिए । तर, अहिलेसम्म ३७ शैय्या मात्र सञ्चालनमा छन् । थप १५ शैय्यामा मोनिटर, भेन्टिलेटर, मुटु र श्वासप्रश्वास जाँच्ने उपकरण छैनन् । शैय्या नपाएर दिनमा ६–७ बालबालिकालाई अन्य अस्पतालमा पठाउन बाध्य भएको अस्पताल प्रसासनले जनाएको छ । 

(हाम्रो डक्टर मासिक)

Last modified on 2019-05-06 14:27:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts