मुलुककै एकमात्र सरुवा रोग अस्पतालमा अझै चलेन आईसोलेसन वार्ड
बर्ड फ्लूको महामारी भए कहाँ उपचार गर्ने ?

काठमाडौं, २२ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक दशक बित्दा पनि गम्भीर प्रकारका सरुवा रोगका बिरामी राखेर उपचार हुने आईसोलेसन वार्ड सञ्चालनमा आउन सकेको छैन । उक्त वार्ड सञ्चालनमा नआउँदा गम्भीर प्रकारका सरुवा रोगका बिरामीहरु अन्य निजी अस्पतालमा जान बाध्य छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन वार्ड सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारी दरबन्दी स्विकृत नगर्दा सेवा सुरु हुन नसकेको हो । सेवा प्रदान गर्ने उद्धेश्यले यस वार्डको निर्माण गर्न ३ करोड रुपैयाँ खर्च भइसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डेका अनुसार अझै यसलाई व्यवस्थित गर्न एक करोडजति रकम लाग्ने छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बारम्बार सेवा संचालनका लागि आग्रह गर्दा समेत व्यवास्ता गरेको पाण्डेको आरोप छ ।
वार्ड सञ्चालनका लागि अस्पतालले मन्त्रालयलाई दरबन्दी माग गरेको छ । जसमा ३० जना स्टाफ नर्स र सात जना मेडिकल अफिसर रहेको छ । अत्यन्त संक्रमित बिरामीलाई छुट्टै राखि उपचार गर्न आइसोलेसन वार्ड चाहिन्छ । यता मन्त्रालयले भने आवश्यक तयारी नगरी वार्ड निर्माण गर्नू नै गलत भएको दावी गरेको छ । आइसोलेसन वार्डको निमार्ण गर्नुपूर्व यसको विस्तृत अध्ययनमा कमी रहेको हुदा यसको अहिले सदुपयोग गर्न नसकेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ बताउछन् ।
भर्खरै मात्र बर्ड फ्लुको संक्रमणबाट एक जना व्यक्तिको मृत्यु भइसकेको छ । तर, संक्रमणबारे चाँज गर्ने वार्ड नै सञ्चालन नहुँदा बिरामी झन् समस्यामा परेका छन् । मुलुकभरका बिरामी सरुवा रोग अस्पताल टेकु आउने गर्छन् तर, सोही अस्पतालमा आइसोलेसन वार्ड दशकदेखि सञ्चालन नहुँदा बिरामीको स्वास्थ्यमाथि सरकारले नै खेलबाड गरेको देखिन्छ ।
एक व्यक्तिमा लागेको कुनै सरुवा रोग अर्काेमा नसर्ने अवस्था नभएसम्म त्यस्ता विरामीलाई यस वार्डमा राखेर उपचार गरिन्छ । यस वार्डमा लहरेखोकी, भ्यागुते रोग, दादुरा, खकार पोजेटिभ, एमडिआर टिवि लगाएतका रोग भएका बिरामीलाई राखि उपचार गराइन्छ । दु्रत गतिमा सर्ने रोगका विरामीहरुलाई यस वाडमा राखेर उपचार गरिन्छ ।