सरकारको नीति कार्यक्रम

सुत्केरीको उद्दार गर्नु ठूलो उपलब्धि, एक स्थानीय तह एक चिकित्सकको पुरानै नीति



Download our app to get more features

काठमाडौं, २० वैशाख । जोखिममा रहेका गर्भवतीको उद्दार गर्न सरकार हेलिकोप्टर लिएर मुगु पुगेको विषयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको ठूलो उपलब्धिका रुपमा प्रस्तुत गर्नुभएको छ ।

संघीय संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सुत्केरीको उद्दारका साथै ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको लागि स्वास्थ्य बीमा सुरु गरिएको पनि अघिल्लो वर्षको उपलब्धिका रुपमा पेश गर्नुभएको हो । जनताको हरेक सुखदुःखमा सरकार सधै साथमा छ भन्दै राष्ट्रपति भण्डारीले अघिल्लो वर्षको उपलब्धिका साथै नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा अधिकांश पुरानै विषय दोहोर्याइएको छ ।

एकवर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमा, एक स्थानीय तह एक चिकित्सक

राष्ट्रपतिले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा एकवर्षभित्र सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिने पनि उल्लेख गरिएको छ । भएकै जिल्लामा प्रभावकारी बन्न नसकेको स्वास्थ्य बीमालाई यसैवर्षमा सबै जिल्लामा विस्तार गरिने कार्यक्रम थियो । यद्यपी यो असफल भयो । साथै नीति तथा कार्यक्रममा अघिल्ला वर्षमा झैं सबै स्थानीय तहमा कम्तिमा एक चिकित्सक पुर्याउने नीति यो साल पनि दोहोर्याइएको छ । नीति तथा कार्यक्रमका अनुसार अर्कोवर्ष भित्र सबै प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन (दूरउपचार) सुरु गरिने छ । सबै वडामा प्राथमिक उपचार केन्द्र विस्तार गर्ने पनि सरकारको नीतिमा उल्लेख छ ।

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा अर्कोवर्ष सबै प्रदेशमा कम्तिमा एउटा विशिष्टिकृत अस्पताल खोल्ने र विशिष्टिकृत उपचारका लागि राजधानी आउनुपर्ने बाध्यता अन्त्य गर्ने पनि बताइएको छ । सरकारले वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको बनाउने घोषणा पनि दोहोर्याएको छ । वीर अस्पताललाई थप विशिष्टिकृत बनाउने र वीर अस्पतालको अत्याधुनिक भवन भक्तपुरको दुवाकोटमा निर्माण गरिने पनि नीति तथा कार्यक्रममार्फत जनाइएको छ ।

Last modified on 2019-05-03 19:41:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts