प्रयोगशालमा कार्यरत कर्मचारीले पाउने भए जोखिम भत्ता

काठमाडौं २० वैशाख । अब प्रयोगशालामा कार्यरत कर्मचारीले प्रयोगशाला जोखिम भत्ता पाउने भएका छन् ।
सरकारले प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।
सरकारले यसअघि प्रयोगशाला जोखिम भत्ता व्यवस्थापन निर्देशिक २०७२ जारी गरेता पनि लागू भने हुन सकेको थिएन।
प्रयोगशालामा कार्यरत सम्पूर्ण कर्मचारीलाई सुरु तलब स्केलमा २५ प्रतिशत भत्ता दिने निर्देशिकामा उल्लेख गरिएको छ। साथै अरु कर्मचारीलाई पनि एक महिना भन्दा बढी प्रयोगशाला सम्बन्धि तालिम दिनुपरेमा भत्ता दिइने उल्लेख छ ।
प्रयोगशालामा १० वर्ष काम गरेका कारण बिरामी भएमा मेडिकल बोर्डको सिफारिसमा १० लाख रुपैयाँसम्म उपचार खर्च सरकारले बेहोर्ने भनिएको छ।
निर्देशिकाअनुसार प्रयोगशालामा काम गर्दा दुर्घटना भइ कर्मचारीको मृत्यु भएमा परिवारले पनि १० लाख रुपैयाँ पाउने प्रावधान छ ।
यसैगरी नोकरी अवधिभर १० वर्ष प्रयोगशालामा काम गरेर सेवानिवृत्त भएकाहरुलाई निवृत्तिभरणमा २५ प्रतिशत भत्ता उपलब्ध गराउने प्रावधान निर्देशिकामा छ ।