वीर अस्पतालको गुणस्तरमै शंका, एक पैसामा अस्पतालका उपकरण खरिद



Download our app to get more features

काठमाडौं, १९ वैशाख । एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, ह्विलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो । स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उब्जिएको छ ।

पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक टे्रडस (सप्लायर्स र्फम) को टेन्डर स्वीकृत र्गयो । निवेदन दिने चार र्फममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो । अरूले १० हजारसम्म तोकेका उपकरण यो र्फमले एक पैसामा दिने भएको छ । भण्डारी सर्जिकल हाउसले ५ हजार ८ सय रुपैयाँ तोकेको अक्सिजन सिलिन्डर ट्रली श्रेष्ठले एक पैसामा दिने भएको छ । बजारमा यो उपकरणलाई ३ हजार रुपैयाँसम्म पर्छ ।

गुणस्तरीय ह्विलचियरको बजार मूल्य अहिले ८ देखि १० हजारसम्म छ । प्रतिस्पर्धामा उत्रेका अन्य र्फमले यो सामानको भाउ यही हाराहारी तोकेका छन् । श्री श्रेष्ठले भने १ पैसामै अस्पताललाई दिन तयार भएको छ । १० हजार बजार मूल्यको औषधि बोक्ने ट्रली पनि एक पैसामा खरिद गरिँदै छ । लगभग ५ हजार पर्ने एक्सरे हेर्ने उपकरण (एक्सरे भीयू बक्स), ६ हजारसम्म पर्ने बिरामी सुताएर गुडाउन मिल्ने ट्रली पनि एक पैसामा श्री श्रेष्ठले दिँदै छ । अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको हो । श्री श्रेष्ठको २० लाख १३ हजार २ सय रुपैयाँको टेन्डर स्वीकृत भएको हो ।

खरिद सम्झौताअनुसार यी र्फमले आवश्यक पर्दा अस्पतालमा सामान पठाउनुपर्छ । टेन्डर हात परिसकेपछि एक(दुई महिना तोकेकै भाउमा सामान दिन्छन् । त्यसपछि बजार अभाव भन्दै अस्पतालमा सामान पठाउँदैनन् । सामान अभाव भएपछि अस्पतालले अन्तैबाट कोटेसन (५ लाखभन्दा कम मूल्यको सिधै खरिद प्रक्रिया) मा सामान खरिद गर्छ ।

कोटेसनमा खरिद गरिएका सामान फेरि बजारभाउअनुसार महँगो हुन्छ । स्रोत कर्मचारी भन्छन्, ‘कोटेसनमा सामान खरिद गर्ने र्फम पनि टेन्डर लिने व्यक्तिकै हुन्छ । एक पैसामा अस्पताललाई सामान दिनुपर्दाको मूल्य कोटेसनबाट उठाइरहेका छन् ।’ अर्को्तिर सस्तोमा खरिद गरिएका सामानको गुणस्तर सुनिश्चित हुँदैन । अस्पतालमा उपकरण भित्रिए पनि छोटो समयमै बिग्रिएर थन्किने गर्छ । स्रोतका अनुसार अस्पतालको खरिद इकाईका कर्मचारीले आफू निकट र्फमलाई टेन्डर दिन यसरी मिलेमतो गर्छन् । सस्तोमा उपकरण खरिद गर्ने नाममा बारम्बार खरिद कारोबार गर्दा अनियमितता भइरहन्छ ।

वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले श्री श्रेष्ठ महँगा उपकरण एक पैसामा दिन तयार भएकामा आफू चकित परेको बताए । ‘हामी खरिद ऐनले बाँधिएका छौं, ऐनअनुसार जसले सस्तोमा दिन्छ उसैलाई टेन्डर दिनुपर्छ, नत्र हामी कारबाहीमा पर्छौं,’ उनले भने, ’सम्झौताअनुरूप तोकेको मूल्यमा सामान नदिए श्रेष्ठ र्फमको टेन्डर रद्द गरिदिन्छौं ।’ उनका अनुसार धरौटी रकमबाट पनि अस्पताललाई घाटा हुन्छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-05-02 16:21:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts