गुल्मीको मुसिकोटमा दुई हजार झाडापखालको जोखीममा, दाङमा ३७ जनामा दादुरा

रुपन्देही १७ वैशाख । गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको प्रदेश ५ सामाजिक विकास मन्त्रालय जनाएको छ ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका ले एक बिज्ञप्ती जारी गरि उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका जनाएको हो ।
झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने एक सय ९२ जना बिरामी भइ उपचाररत रहेका छन् । झाडापखालाका बिरामीमध्ये ५९ वर्षीया कुमारी सिंजालीको चितवन मेडिकल कलेजमा, ६ जनाको गुल्मी अस्पतालमा र अन्यको स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल र मुसिकोट नगरपालिकाको सहभागितार्मा यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ । पानी शुद्धीकरण गर्न पाँच हजार चक्की क्लोरिन वितरण गरिएको थियो । अहिले झाडापखाला नियन्त्रणमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
महाशाखाले रोग नियन्त्रण र व्यवस्थापनका लागि नमूना परीक्षण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली प्रभावित स्थलमा परिचालन गरेको थियो । घटनाको पूर्ण विवरणसहित प्रतिवेदन पेश गर्न लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल अधिकृत दुर्गा खत्रीको नेतृत्वमा स्वास्थ्य निर्देशनालयका हेअ कृष्ण यादव र गुल्मी अस्पतालका शिशिर सिलवाल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरी घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै दाङको राजपुर ४ मा फैलिएको दादुरा पनि नियन्त्रणमा आइसकेको मन्त्रालयले जनाएको छ । राजपुरमा चैत २५ मा एक बालिकामा देखिएको दादुरा ९ देखि १४ वर्ष उमेरका ३७ जना बालबालिकामा फैलिएको थियो ।
अधिकांश बालबालिकाले दादुराविरुद्धको खोप नलगाएको भेटिएको मन्त्रालयले जनाएको छ ।दादुरा संक्रमणको पूर्ण प्रतिवेदन पेश गर्न राप्ती प्रादेशिक अस्पताल दाङका मेडिकल अधिकृत डा. मिनचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश न्यौपाने र स्वास्थ्य कार्यालय दाङका सुपरभाइजर सदस्य रहेको बिज्ञेप्तीमा उल्लेख छ ।