सरकारी चिकित्सकको माग पूरा गर्दै सरकार !

काठमाडौं, १७ वैशाख । सरकारले आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) सँग गरेको सहमति अनुसार आवश्यक प्रक्रिया बढाउने भएको छ ।
सरकार र गोदानबीच भएको वार्तामा कर्मचारी समायोजन र संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गोदानले उठाएका माग अनुसार नै संशोधन गर्न सरकार सकारात्मक हुँदै आवश्यक प्रक्रिया अघि बढाउने भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघसँग विगतमा गरिएका सहमति अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने भएपछि गोदानले तत्कालै आन्दोलनका कार्यक्रम अघि नबढाउने निर्णय गरेको हो। संघले आफ्ना माग पुरा गर्न सरकारलाई १५ गतेसम्मको समय दिँदै आन्दोलनका कार्यक्रम पनि स्थगन गरेको थियो ।
सरकारले डाक्टरसँग भएको सहमति अनुसार समायोजनमा परेका चिकित्सकलाई पुल दरबन्दीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । यस्तै, संघीय निजामती सेवाको विधेयकमा डाक्टरहरुले हालेका ९ बुँदे संशोधन पनि समावेश गर्न सरकार सकारात्मक भएको छ ।
संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले हाम्रो डाक्टरसँग कुराकानी गर्दै तत्कालै आन्दोलनका कार्यक्रम नगरेपनि सहमति कार्यान्वयनका लागि खबरदारी निरन्तर गरिरहने बताए ।