मनमोहन कार्डियोथोरासिकको दसौं वार्षिकोत्सवः १३ करोड रकम बराबरको निःशुल्क उपचार



Download our app to get more features

काठमाडौं, १३ वैशाख । सरकारले विनियोजन गरेको बजेट तथा त्रिभुवन विश्वविद्यालयको सहयोगबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पछिल्लो एकवर्षमा १३ करोड बराबरको निशुल्क उपचार गरेको छ । 

सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले उपचार गर्ने क्षमता नभएका व्यक्तिहरुलाई सो रकम बराबरको उपचार गरिएको बताएका हुन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादवको उपस्थितिमा सेन्टरले वार्षिकोत्सव कार्यक्रम मनाएको हो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले सेन्टरको वार्षिक प्रतिवेदन पनि विमोचन गरे । 

मन्त्री यादवले सेन्टरले हालसम्म सफलतापूर्वक गरेको कामलाई आत्मसात गरेर गुणस्तरीय सेवा दिन आग्रह गरे ।

उनले नीतिनियममा भएका झन्झटिला प्रक्रिया पन्छाउनमा स्वास्थ्य मन्त्रालय सकारात्मक रुपले लागेको पनि दावी गरे ।

राज्यमन्त्री यादवले भौतिक सामाग्री खरिद गर्दा आउने झन्झटिला प्रक्रिया हटाउन सार्वजनिक खरिद ऐन संसोधन गर्न आवश्यक रहेको समेत प्रष्टाए ।

मनमोहन सेन्टरको अझै स्तरोन्तीका लागि आवश्यक काम गर्न सरकार सधैं तत्पर रहेको भन्दै यादवले आश्वासन दिए । 

सेन्टरका कार्यकारी निर्देशक श्रेष्ठले दशौं वर्षसम्म आइपुग्दा सेन्टरले सबैको साथ र सहयोगबाट धेरै काम गरिसकेको बताए ।  

सेन्टरले उत्पादन गर्दै आएका नयाँ जनशक्ति देशदेखि विदेशसम्म उपचार गरिरहेकोप्रति सेन्टरले  गर्व महशुश गर्ने गरेको पनि श्रेष्ठको भनाइ छ । 

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका श्रेष्ठले गत वर्ष १६ करोड बजेट विनियोजन भएको बताए ।

२१ करोड बाहिरबाट सहयोग आएको र सेन्टरले २१ करोड रकम संकलन गरेको तथ्यांक प्रस्तुत गरे। जसमा ३७ करोड खर्च भएकोमा बाँकी रकम सुरक्षित रहेको पनि उनको भनाइ छ। 

सेन्टरबाट गत वर्षमात्र २हजार ३ सय जनाको अपरेसन सफल भएको समेत उनले प्रतिवेदनमार्फत जानकारी दिए ।

आउँदो ६ महिनामै नयाँ भवन निर्माण गरिने बताउँदै कार्यकारी निर्देशक श्रेष्ठले यसका लागि यस वर्ष थप बजेटको आवश्यक्ता रहेको पनि बताए ।

उनले भने ‘भवन मात्रै निर्माण गरेर हुँदैन,बनिसकेपछि त्यसभित्र आवश्यक संसाधनसहित भवन संचालन गर्न अब ८० करोड बजेटको आवश्यक छ ।’

Last modified on 2019-04-28 06:26:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts