विश्व औलो दिवस

कसरी सर्छ औलो रोग ? कसरी बच्ने ?



Download our app to get more features

काठमाडौ, १२ वैशाख ।  प्रत्येक वर्ष २५ अप्रिलका दिन विश्व औलो दिवस मनाउँने गरिन्छ । आजकै दिन विश्वभर औलोका विषयमा जनचेतना लगायतका विभिन्न कार्यक्रम गरी विश्व औलो दिवस मनाउने गरिन्छ ।
सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।  सोही उद्देश्यका साथ औंलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । 
पछिल्लो तथ्याङ्क हेर्दा औला रोगीको संख्या  लगभग स्थिर नै देखिन्छ । तथ्याङ्क अनुसार २०७२/७३ मा ९ सय ९१ औलोका बिरामी भेटिएका छन्, जसमा आयातित मलेरियाका बिरामी ४ सय ८५ रहेको छ ।

त्यस्तै, ०७३/०७४ मा ११२८ कुल औलोका विरामीमा आयातित ६३६ रहेको तथ्याङ्कले देखाउँछ ।  

यो तथ्याङ् हेर्दा नेपालमा औंलाका बिरामी बढेको देखिए पनि यसलाई बढ्दो क्रममा रहेको भन्न सकिदैन । 

नेपालमा विशेषगरी सुदरपश्चिम भेगमा औलाका बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा ३ सय औलोका बिरामी रहेकोमा २ सय पाँच आयातित र ९५ जना स्थानीय बिरामी फेला परेको तथ्यांकले देखाउँछ ।  

त्यसैगरी, आव  २०७३/७४ मा दुई सय ७१ बिरामी रहेकोमा एक सय ७० आयातित र एक सय एक स्थानीय,  बिरामी भेटिएका छन् ।

आर्थिक वर्ष ०७२र७३ मा दुई सय बिरामी रहेकोमा एक सय २३ आयातित र ७७ स्थानीय बिरामी फेला परेका छन् । यस्तै, आर्थिक वर्ष ०७१/७२ मा २ सय ६८ बिरामी रहेकोमा एक सय ६७ आयातित र एक सय एक स्थानीय औंलोका बिरामी फेला परेको तथ्यांकले देखाएको छ ।  

कैलालीमा सन् २०२२ भित्र  शून्य औंलोका बिरामी बनाउने लक्ष्य लिइएको छ । यसअनुसार जनचेतनामुलक कार्यक्रम, कीटनाशक झुल वितरण, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, औषधि तथा सामाग्रीहरुको नियमित आपूर्ति लगायतका क्रियाकलाप गरिरहेको पाइन्छ ।  

लामखुट्टेको टोकाइबाहेक पनि सर्छ औंलो  
विशेषगरी औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।

लामखुट्टेको टाकाइबाहेकका कारणले पनि औलो सर्छ । जसमा विरामी आमाले बच्चा जन्माएमा, अंग प्रत्यारोपण गर्दा, औलाका विरामीको रगत अर्को व्यक्तीमा हाल्दा, असुरक्षित सुइहरुको प्रयोग गरेमा पनि औलो सर्छ । तर, प्रत्यक्ष रुपमा मानिसबाट मानिसमा औंलो सर्दैन ।  

कति किसिमका औलो  

खासगरि औलो पाँच किसिमका रहेका छन् । यसअघि चार किसिमका औलो रहेकोमा  पछिल्लो समय दक्षिण एसयाली मुलुक कम्बोडियामा प्लाजमोडियम नलेसी नामक औलो भेटिएको छ । योसहित प्लाजमोडियम भाइभेक्स, प्लाजमोडियम ओभाले, प्लाजमोडियम फल्सिपारम र प्लाजमोडियम मलेरिएगरी हाल पाँच किसिमका औलो रहेका छन् ।

यी औलो परजीविमध्ये दुई परजीविहरू प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवि मात्र नेपालमा पाइन्छ ।

जसमध्ये पनि प्लाज्मोडियम  भाइभेक्स सबभन्दा बढी देखिन्छ । प्लाजमोडियम फल्सिपारमले गराउने औलो रोग बढी कडा र खतरनाक हुन्छ । यसले मानिसको स्नायु प्रणालीमै असर गर्ने हुँदा बढी घातक मानिन्छ ।

चुनौती

तराई क्षेत्रमा मात्रै नभएर पहाडी÷हिमाली क्षेत्रमा पनि औलो रोग देखिने थालेको छ ।   जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन् ।

यसकारण  ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना रहेको छ ।

 तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट पहाडी तथा हिमाली क्षेत्रमा पनि समेत जान थालेको छ ।  यो अहिले चुनौतिको विषय बनेको छ ।  नेपालमा दुई किसिमबाट औलोको परिक्षण  औलो रोग समयमै पत्ता लागेमा सहजै उपचार गर्न सकिन्छ ।   ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र संक्रमण देखा परे तत्काल उपचार  गरिन्छ ।

 नेपालमा दुई किसिमबाट औलोको परीक्षण गर्ने गरिन्छ ।

 नेपालमा औलो रोगको लक्षणहरुका आधारमा र्यापीड डाइग्नोसिस टेस्ट  र सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको परीक्षण गरिन्छ । परजीवीको प्रकारअनुसार रोगको उपचार पनि फरक–फरक किसिमबाट हुनेगर्छ ।  

चिकित्सकको सल्लाअनुसार  पूर्णरुपमा औषधि सेवन  गर्नुपर्छ ।  नेपालमा औलो रोगको उपचारका लागि विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ । स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार पनि  निःशुल्क  छ ।
 

औलो रोगका लक्षण  
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि  १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने लगायतका सामान्य लक्षण दृखिने शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनले बताए । 
साथै निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो÷कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखा पर्दछ ।  डा पुनका अनुसार यो  रोगले गम्भीर रूप लिएमा मानिसको ज्यान समेत जान सक्ने सम्भावना हुन्छ ।  धेरैजसो कामको सिलसिलामा बाहिर गएका व्यक्तिले  यस्ता रोग लिएर आउँछन् ।

विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट आएका व्यक्तिले औलो रोग ल्याउँछन् । यससँगै अफ्रिकन मुलुकहरुमा  पनि औलोको जोखिम बढी भएको हुँदा त्यहाँबाट फर्किएका व्यक्तिले पनि यो रोग लिएर आउँछन् ।  

कसरी  बच्ने  

औलोको जोखिम कम गर्न सबैभन्दा पहिला लामखुट्टे आउने माध्यम बनाउनु हुँदैन । यसका लागि घर वरपर पानी जमेका खाल्टाखुल्टी  पुर्नुपर्ने डा पुन बताउँछन् ।

 यससँगै औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने डा पुनले बताए । लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कनुपर्छ ।

 राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो । शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ ।

स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिने डा पुनले जानकारी दिए ।   यसैगरी प्रत्येक समुदायमा  औलो सम्बन्धी जनचेतना फैलाउन अति आवश्यक रहेको उनको सुझाव छ ।

साथै शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न सकिने डा पुनले बताए । 

Last modified on 2019-04-25 15:33:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts