पाँच किसिमका औलोः लामखुट्टेको टोकाइबाहेक पनि सर्छ औंलो



Download our app to get more features

काठमाडौं८ वैशाख । सरकारले सन् २०२५ सम्ममा मुलकलाई औलोमुक्त राष्ट्रका रुपमा पुर्याउने उद्देश्य लिएको छ ।  सोही उद्देश्यका साथ औंलोका विषयमा विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । पछिल्लो तथ्याङ्क हेर्दा औला रोगीको संख्या  लगभग स्थिर नै देखिन्छ ।

तथ्याङ्क अनुसार २०७२/७३ मा ९ सय ९१ औलोका बिरामी भेटिएका छन्, जसमा आयातित मलेरियाका बिरामी ४ सय ८५ रहेको छ । त्यस्तै, ०७३/०७४ मा ११२८ कुल औलोका विरामीमा आयातित ६३६ रहेको तथ्याङ्कले देखाउँछ ।  

यो तथ्याङ् हेर्दा नेपालमा औंलाका बिरामी बढेको देखिए पनि यसलाई बढ्दो क्रममा रहेको भन्न सकिदैन  ।

नेपालमा विशेषगरी सुदरपश्चिम भेगमा औलाका बिरामी देखिन्छन् । यसमा पनि कैलाली जिल्लामा मलेरियाका बिरामी बढी भेटिन्छन् । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा ३ सय औलोका बिरामी रहेकोमा २ सय पाँच आयातित र ९५ जना स्थानीय बिरामी फेला परेको तथ्यांकले देखाउँछ ।  
त्यसैगरी, आव  २०७३/७४ मा दुई सय ७१ बिरामी रहेकोमा एक सय ७० आयातित र एक सय एक स्थानीय,  बिरामी भेटिएका छन् ।

आर्थिक वर्ष ०७२/७३ मा दुई सय बिरामी रहेकोमा एक सय २३ आयातित र ७७ स्थानीय बिरामी फेला परेका छन् ।

यस्तै, आर्थिक वर्ष ०७१/७२ मा २ सय ६८ बिरामी रहेकोमा एक सय ६७ आयातित र एक सय एक स्थानीय औंलोका बिरामी फेला परेको तथ्यांकले देखाएको छ । 
कैलालीमा सन् २०२२ भित्र  शून्य औंलोका बिरामी बनाउने लक्ष्य लिइएको छ ।

यसअनुसार जनचेतनामुलक कार्यक्रम, कीटनाशक झुल वितरण, स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, औषधि तथा सामाग्रीहरुको नियमित आपूर्ति लगायतका क्रियाकलाप गरिरहेको पाइन्छ । 

लामखुट्टेको टोकाइबाहेक पनि सर्छ औंलो 

विशेषगरी औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ । लामखुट्टेको टाकाइबाहेकका कारणले पनि औलो सर्छ ।

जसमा विरामी आमाले बच्चा जन्माएमा, अंग प्रत्यारोपण गर्दा, औलाका विरामीको रगत अर्को व्यक्तीमा हाल्दा, असुरक्षित सुइहरुको प्रयोग गरेमा पनि औलो सर्छ । तर, प्रत्यक्ष रुपमा मानिसबाट मानिसमा औंलो सर्दैन । 

कति किसिमका औलो 

खासगरि औलो पाँच किसिमका रहेका छन् । यसअघि चार किसिमका औलो रहेकोमा  पछिल्लो समय दक्षिण एसयाली मुलुक कम्बोडियामा प्लाजमोडियम नलेसी नामक औलो भेटिएको छ । योसहित  प्लाजमोडियम भाइभेक्स, प्लाजमोडियम ओभाले, प्लाजमोडियम फल्सिपारम र प्लाजमोडियम मलेरिएगरी हाल पाँच किसिमका औलो रहेका छन् ।

यी औलो परजीविमध्ये दुई परजीविहरू प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवि मात्र नेपालमा पाइन्छ ।

जसमध्ये पनि प्लाज्मोडियम  भाइभेक्स सबभन्दा बढी देखिन्छ । प्लाजमोडियम फल्सिपारमले गराउने औलो रोग बढी कडा र खतरनाक हुन्छ । यसले मानिसको स्नायु प्रणालीमै असर गर्ने हुँदा बढी घातक मानिन्छ ।

चुनौती
तराई क्षेत्रमा मात्रै नभएर पहाडी÷हिमाली क्षेत्रमा पनि औलो रोग देखिने थालेको छ ।  

जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएकाले हिमाली क्षेत्रमा समेत लामखुट्टेहरु देखिन थालेका छन् ।  यसकारण  ती क्षेत्रमा पनि औलो जोखिमको सम्भावना रहेको छ । 

तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट पहाडी तथा हिमाली क्षेत्रमा पनि समेत जान थालेको छ ।  यो अहिले चुनौतिको विषय बनेको छ । 

नेपालमा दुई किसिमबाट औलोको परिक्षण 

औलो रोग समयमै पत्ता लागेमा सहजै उपचार गर्न सकिन्छ ।  

ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र संक्रमण देखा परे तत्काल उपचार  गरिन्छ ।  नेपालमा दुई किसिमबाट औलोको परीक्षण गर्ने गरिन्छ । 
नेपालमा औलो रोगको लक्षणहरुका आधारमा र्यापीड डाइग्नोसिस टेस्ट  र सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको परीक्षण गरिन्छ ।

परजीवीको प्रकारअनुसार रोगको उपचार पनि फरक–फरक किसिमबाट हुनेगर्छ ।  चिकित्सकको सल्लाअनुसार  पूर्णरुपमा औषधि सेवन  गर्नुपर्छ । 

नेपालमा औलो रोगको उपचारका लागि विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ । स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्थामा औलो रोगको जाँच तथा उपचार पनि  निःशुल्क  छ । 

औलो रोगका लक्षण 
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि  १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने लगायतका सामान्य लक्षण देखिन्छन् ।

साथै निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो÷कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखा पर्दछ । 

यो रोगले गम्भीर रूप लिएमा मानिसको ज्यान समेत जान सक्ने सम्भावना हुन्छ । 

धेरैजसो कामको सिलसिलामा बाहिर गएका व्यक्तिले  यस्ता रोग लिएर आउँछन् । विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट आएका व्यक्तिले औलो रोग ल्याउँछन् । यससँगै अफ्रिकन मुलुकहरुमा  पनि औलोको जोखिम बढी भएको हुँदा त्यहाँबाट फर्किएका व्यक्तिले पनि यो रोग लिएर आउँछन् । 

कसरी  बच्ने 

औलोको जोखिम कम गर्न सबैभन्दा पहिला लामखुट्टे आउने माध्यम बनाउनु हुँदैन । यसका लागि घर वरपर पानी जमेका खाल्टाखुल्टी  पुर्नुपर्छ ।

यससँगै औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्ने हुन्छ। लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कनुपर्छ । 

राति सुत्दा सधैँ झुल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय हो ।

शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्न सकिन्छ । स्प्रे, लिक्वड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ ।  यसैगरी प्रत्येक समुदायमा  औलो सम्बन्धी जनचेतना फैलाउन अति आवश्यक छ । साथै शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न सकिन्छ । 

२५ अप्रिललाई विश्व औलो दिवस
 

प्रत्येक वर्ष २५ अप्रिलका दिन विश्व औलो दिवस मनाउँने गरिन्छ । औलोका विषयमा जनचेतना लगायतका विभिन्न कार्यक्रम गरी सो दिन विश्व औलो दिवस मनाउने गरिन्छ ।

    


 

Last modified on 2019-04-22 11:15:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts