प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको आज दोस्रो दिनः मश्तिष्क मृत्यु सम्बन्धी छलफल हुने



Download our app to get more features

काठमाडौं, ८ वैशाख । दुई दिनसम्म चल्ने प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको आइतबार दोस्रो दिन मस्तिष्क मृत्यु सम्बन्धी छलफल गरिने भएको छ । जसमा केन्द्र तथा स्थानीय तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता हुनेछ ।

सम्मेलनको पहिलो दिन शनिबार विहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा प्रत्यारोपण सम्वन्धी प्राविधिक विषयमा छलफल भएको थियो । सम्मेलनको औपचारिक उद्घाटन शनिबार साँझ स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य राज्यमन्त्री यादवले यस्तो सम्मेलन भइरहँदा आफूलाई गर्व लागिरहेको भन्दै सरकारले यस विषमा अझै बढी ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । उनले यस क्षेत्रमा सरकारले लगानी बढाएर वाहिरी मुलुकमा भएका उपलब्धी नेपालमा पनि विस्तार गर्ने बताए ।

सम्मेलनका आयोजक समिति संयोजक शहिद धर्मभक्ता राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवम प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नवीनतम प्रविधि, ज्ञान एकआपसमा आदानप्रदान गर्ने उद्देश्यले प्रत्यारोपण सम्मेलन आयोजना गरिएको बताए ।

‘सम्मेलनको मुख्य उद्देश्य विकसित देशहरुको अंगप्रत्यारोपणको अवस्था अनुभव र हाम्रो देशमा भएको प्रत्यारोपणको अवस्था र अनुभव साटासाट गर्ने नै हो, साथै यो बीचमा के कस्तो ‘ग्याप’ छ भन्ने हेर्ने हो,’ संयोजक डा. श्रेष्ठले भने । नेपालको प्रत्यारोपण सेवालाई अझ विस्तार गर्न र जनचेतना बढाउन सम्मेलन कोशेढुङ्गा साबित हुने डा. श्रेष्ठले विश्वास व्यक्त गरे ।

सम्मेलनको आयोजक शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारेपण केन्द्र, अंङ्ग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाज रहेका छन् । ‘ब्रिजिङ द ग्याप’ नारा दिइएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३ सयभन्दा बढी विज्ञ तथा सरोकारवालाहरु उपस्थित भएका छन् । सम्मेलनमा भाग लिन अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञ आएको सम्मेलन आयोजक समितिका संयोजक डा श्रेष्ठले बताए । उनले सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, स्वास्थ्य अधिकारी, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता भएको समेत जानकारी दिए ।

नेपालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । त्यसयता करीब १ हजार २ सय बढीको प्रत्यारोपण भइसकेको छ । पछिल्लो समय नेपालमा मिर्गौला बाहेक कलेजो समेत प्रत्यारोपण थालिएको छ भने मस्तिष्कमृत्यु भएका व्यक्तिहरुबाट समेत अंग झिकेर प्रत्यारोपण सुरु गरिएको छ ।

Last modified on 2019-04-22 11:15:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts