गिजाबाट रगत किन आउँछ ? कसरी बच्ने ?



Download our app to get more features

बाहिरबाट हेर्दा मानिस जतिसुकै स्वस्थ भए पनि दाँतको समस्याका कारण सास गन्हाउँछ भने व्यक्तित्वमै नकारात्मक प्रभाव पर्न सक्छ । यो समस्याले जुनसुकै उमेर समूहका महिला, पुरुष तथा बालबालिकामा असर गरिरहेको हुन्छ । त्यसैले मुख तथा दन्त स्वास्थ्यलाई बेवास्ता गरी सामान्य रुपमा लिनुहँदैन  । सामान्य दाँतको दुखाइलाई ध्यान नदिँदा पछि गएर किराले खाने, गिजा सुन्निने, गिजाबाट रगत आउने, पिप आउने, संक्रमण हुने जस्ता समस्या देखिन्छन् । सुरुमै उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिन्छ ।


मुख स्वास्थ्यमा धेरै देखिने समस्या मध्ये गिजाबाट रगत आउनु पनि एक हो । गिजाबाट रगत आउनुको मुख्य कारण व्यक्तिको मुख स्वास्थ्य कमजोर हुनु हो । दाँत तथा गिजाको सतहमा लेउ बसेको हुन्छ । यदि राम्रोसँग सतहबाट लेउ सफा नभएमा माइक्रो अर्गाजिनम व्याक्टेरीयाका कारण गिजामा संक्रमण सुरु हुन्छ । जसका कारण गिजा सुन्निने, रगत आउने हुन्छ । त्यसपछि विस्तारै गिजाले दाँतको भाग छोड्दै जानुका साथै दाँत  सतहबाट तल झर्दै जान्छ । पछि गएर दाँत हल्लिने, रगत आउने, पिप आउने, संक्रमण हुने तथा मुख गन्हाउने जस्ता समस्या देखिँछ । 


यस बाहेक सूर्तिजन्य पदार्थ(चुरोट, खैनी, पान, गुठ्खा) को सेवनले पनि गिजामा संक्रमण हुनसक्छ । जसले गर्दा गिजाबाट रगत आउनसक्छ । कहिलेकाहीँ डिप्रेसन, मानसिक तनावमा प्रयोग गर्ने औषधिको सेवन, राम्रोसँग मुख स्वास्थ्यलाई ध्यान नदिने, रगत पातलो बनाउने औषधिका कारण पनि गिजाबाट रगत आउँछ । साथै शरीरलाई आवश्यक पर्ने भिटामिनको कमी, पोषणको कमी, तथा गर्भवती महिलाको हर्मोनमा हुने परिवर्तनका कारण पनि गिजाबाट रगत आउँछ । 

 

दाँत र गिजामा हुन सक्ने किटाणुको संक्रमणबाट बच्न तथा स्वस्थ मुखका लागि मुख्यत यसको सफाईमा ध्यान दिनुपर्छ । दैनिक बिहान र बेलुका मन्जनले दाँत माँझ्ने गर्नाले दाँतको सतहमा जम्मा हुने डेन्टल प्लाग रहन पाउदैन, जसमा विभिन्न प्रकारका व्याक्टेरिया हुन्छन् । दाँतमा अड्केका खाद्य पदार्थहरु पनि ब्रस गर्नाले त्यहाँ रहन पाउँदैनन् । डेन्टल फ्लस (विशेष किसिमको धागो) को प्रयोगले दाँतका विचमा अड्केका खाद्य पदार्थ तथा दाँतको सतहमा वा ब्रसले सफा गर्न नसक्ने ठाँउको सफाइ गर्न मद्दत गर्छ । साथै मुख कुल्ला गर्ने विशेष प्रकारको झोल औषधिको प्रयोग गर्नले गिजाको समस्या तथा गिजाबाट रगत आउने समस्याको रोकथाम गर्छ । साथै सूर्तिजन्य पदार्थ पान सुपारी, गुठ्खाको प्रयोग गर्नहुँदैन । नियमित रुपमा दन्त चिकित्ससको सल्लाह र वर्षमा कम्तिमा दुई पटक दाँच जाँच गराउनु पर्छ । 

Last modified on 2016-07-04 13:56:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts