टेकु सरुवा रोग अस्पतालका ९ वटा ४० वर्ष पुराना भवन, निर्माणकाे साढे दुई करोड दुई वर्षदेखि खर्च भएन



Download our app to get more features

काठमाडौं, ५ बैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत रहेका ११ भवनमध्ये ९ भवन ४० वर्ष पुराना भईसकेका छन् । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अस्पतालका दुई वटा बाहेक अरु सबै ९ वटा भवन ४० वर्ष पुराना रहेकाे देखाएकाे हाे । अस्पतालले आर्थिक वर्ष ०७४/ ७५मा ९७ हजार तीन सय ६३ जनालाई सेवा दिएको छ । अस्पतालले उपलब्ध गराएको विवरण अनुसार प्रत्येक दिन न्यूनतम ४१ देखि अधिकतम आठ सय १२ जनासम्म बिरामीलाई सेवा दिएको पाइयो ।

तर बिरामीले जाँचको लागि प्रतीक्षालय साँघुरो भएका कारण कक्षबाहिर बाटोमा उभिनु पर्ने बाध्यता रहेको पनि प्रतिवेदनमा उल्लेख छ । विभिन्न प्रकारका सरुवा रोगका बिरामी एकै स्थानमा रहनुपर्ने, ओ.पी.डी. को शौचालय पर्याप्त नभएको र चिकित्सकको पदपूर्ति नभएका कारण लामो समयसम्म बिरामीले पालो पर्खनुपर्ने लगायतका बेतिथि अस्पतालमा रहेको पनि प्रतिवेदनले देखाएको छ ।

अस्पतालकाे भवननिर्माण मर्मत तथा सुधार कार्यमा २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा गुरुयोजना स्वीकृत नभएकोले बजेट खर्च नभई निष्क्रिय रहेको पाइएको छ । सरुवा रोग सम्बन्धी उपचार गर्ने रेफरल अस्पताल आफैमा समस्याग्रस्त रहेको अवस्थाले सेवाग्राहीमैत्री हुन नसकेको प्रतिवेदनले ठहराएको छ ।

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार यो वर्ष अस्पताल मर्मत तथा संभारको लागि पनि एक करोड रकम आएको छ । अस्पताल सुधारका लागि यति रकम एकदमै कम भएको पाण्डेले बताए । उनले यस अस्पतालको भवन विकासका लागि आफुले जाइकासंग समन्वयन गररिहेको बताए । साथै जाइकाले अस्पताल भवन कस्तो बन्ने र अस्पतालको स्तराेन्नतिको लागि आवश्यक कुराहरुको बारेमा जानकारी मागेकाले अहिले त्यसको तयारी गर्दै गरिरहेको पनि जानकारी दिए । शुक्रराज ट्रपिकल अस्पतालको भवन आफुले काम गर्ने माैका पाइरहेमा दुई वर्ष भित्र परिवर्तन गररे देखाउने उनले दावी पनि गरे ।

तर यस अस्पतालमा कुनै पनि निर्देशकहरु लामो समयसम्म टिकेको भने अवस्था छैन । यस अस्पतालमा वर्षमा दुई पटकसम्म निर्देशक परिवर्तन हुने गरेको तितो यर्थाथ रहेको छ । जसका कारण पनि अस्पतालको विकास पछि परेको भन्ने आलाेचनाहरु सुन्न पाइन्छ ।

Last modified on 2019-04-18 19:49:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts