स्वास्थ्यका दुवै सचिवको सरुवाः घिमिरे महिला मन्त्रालयमा, चौधरीको सरुवा गोप्य

काठमाडौं, ५ वैशाख । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुवै सचिवको सरुवा गरेको छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरी र जनसंख्या सचिव चन्द्र कुमार घिमिरेलाई सरुवा गरिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यका दुवै सचिवको सरुवा गरेको हो ।
डा. चौधरीका सरुवाको निर्णय गोप्य राखिएपनि अर्का सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा ल्याउने र स्वास्थ्यमा रामप्रसाद थपलियालाई पठाउने निर्णय भएको छ ।
मन्त्रीपरिषदको आज हुने पत्रकार सम्मेलनमा स्वास्थ्यका सचिवको सरुवाबारे औपचारिक जानकारी सहित पत्र दिइने जनाइएको छ ।
डा चौधरीको सरुवाको निर्णय यसअघि पनि विवादमा आएपछि सरकार ‘ब्याक’ हुनु परेका कारण यो पटकको निर्णय गोप्य राखिएको हो ।
डा चौधरीलाई सरकारले यसअघि पनि असोजमा स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । सचिव डा चौधरीले सरकारको उक्त निर्णयलाई चुनौती दिंदै कात्तिक १५ गते सर्वोच्च पुगेकी थिइन् ।