जब लाजकै कारण बुद्धिमायाले २० वर्षसम्म आङ खसेको समस्या लुकाएर हिडिन्...

काठमाडौं, ४ वैशाख । थकित अवस्थामा मलिन मुहार लगाएर बसिरहेकि यी बुद्धिमाया तामाङको वास्तविक कथा बेग्लै छ ।
झण्डै २० वर्षसम्म ‘आङ’ खसेको पीडा लुकाएरै आफ्नो गुजारा चलाउँदै आइन्, तामाङले । सिन्धुपाल्चोक स्थायी घर भएकि ५२ वर्षीय तामाङ हाल काठमाडौंको एक होस्टेलमा काम गर्दै गुजारा गर्दै आइरहेकी छिन् । २० वर्षमा विवाह गरेर २३ वर्षमा पहिलो सन्तानका रुपमा एक छोरालाई जन्म दिइन्, तामाङले ।
सुत्केरी अवस्थामै उनको श्रीमान् जेल परेपछि झनै समस्या भयो उनलाई । बल्ल आठ वर्षपछि जेलबाट श्रीमान् त निस्किए, सोही समयबाटै झन् दुःख थपियो तमाङलाई ।
श्रीमान् निस्किएपछि उनी पुन गर्भवती भइन्, उनी । तर, सोही गर्भमा रहेको बच्चाको बाबूले नै चाहेनन्, त्यस बच्चालाई जन्म दिन । गर्भवति भएको थहापाए पछि तुरुन्त गर्भपतन गर भन्दै श्रीमानले नै धम्काएको टिठलाग्दो दिन सम्झिइन् तमाङले ।
उनले भनिन्, ‘आफ्नो पेटको बच्चालाई जन्म दिने मन कुन आमालाई नहोला, तर मैले गर्भपतन नगराए मार्नेसम्मको धम्कि आएपछि गराउन बाध्य भएँ ।’
गर्भपतन गराएपछि पनि सुखले कहाँ बाँच्न पाइन् र तामाङले । गर्भपतन भएको केही समयपछि नै उनका श्रीमानले डिर्भोस मागे । उनले तुरन्तै यो कुरा स्वीकार्न नै सकिनन् । पटक–पटकको पिटाई र मार्ने धम्किले अत्यन्तै पीडा भएको सम्झिन्छिरहँदा बुद्धिमायाका आँखा रसाउन थाले ।
‘भर्खरै गराएको गर्भपतन त्यसमाथिको त्यो अत्याचारले मलाई मर्नु जस्तै भएको थियो, तर सानो छोराको मायाले मर्न दिएन’, उनी चित्त बुझाउन बाध्य भइन् । उनीमाथि समय हावी भयो । ‘आठ वर्षसम्म दुःख गरेर छोरालाई हुर्काएँ, अब साथ पाउँछु भन्ने आशा लिएर खुशी हुन नपाउँदै मेरो जिवनमा अर्को बज्रपात पर्यो’, उनले थपिन् ।
पहिला गाउँबाट फकाएर लेराएको र काठमाडौं आइसकेपछि डर र धम्कि देखाउँदै गर्भपतन गराएका थिए बुद्धिमायाका श्रीमानले । यी सबै कुरा कसैलाई नभन भन्दै केही समयमा उनीले श्रीमतिलाई अलपत्र पारेर छोडेर वेपत्ता भए ।
गर्भपतन गराएको समयमा कति स्यहार चाहिन्छ त्यसको प्रवाह नगरी पेट पाल्नकै लागि ज्यामी काम गर्न थालिन्, बुद्धिमाया । त्यसकै असर उनको स्वास्थ्यमा पर्यो । आफ्नो र छोराको लागि दैनिक गुजारा चलाउन ज्यामी काम गर्न थालेपछि तमाङको ‘आङ’ खस्यो । ‘आङ खसेपछि काम गर्न असहज भयो, ढाड दुख्ने, ज्यू नै भारी भएर थकित हुन्थ्यो, तर पनि काम नगरी सुख थिएन’, उनले दुःख सुनाइन् ।
श्रीमानको माया पनि नपाएकी तमाङ मानसिक पीडा र शारीरीक अस्वस्थताले कति रात ननिदाई काटेको बताउँछिन् । आङ खसेपछि पनि उस्तै काम गर्नुपर्ने बाध्यताले पिरोलेको थियो, उनलाई ।
यस्तो समस्या हुँदा के गर्नुपर्छ भनेर थाहा नपाएकी उनले लाजका कारण अरुलाई पनि भन्न र सोध्न नसकेको बताइन् । वर्षौपछि सँगै काम गर्नेलाई जानकारी लिन खोज्दा उल्टै ‘आङ’ खसेको आईमाई भनेर गिज्याउने, छिछि गर्दै दुव्र्यवहार गरेको वेदना पनि पोखिन्, तमाङले ।
यसरी लाजका कारण अस्पताल जान सकिनन् तर शारीरीक समस्या बोकी अरुको दुव्र्यवहार समेत सहेर वर्षौसम्म हिँडिन्, बुद्धिमाया । तर, त्यसैबीचमा काम गर्न अत्यन्तै गाह्रो भएपछि स्वास्थ्य संस्थासम्म पुगेकी थिइन्, ३–३ महिनामा रिङ राख्दै आइरहेकी उनले १९ वर्षपछि आफ्नो समस्या बुहारीलाई सुनाइन् ।
ज्यामी काम गरेरै भएपनि छोरालाई हुर्काएर विवाह समेत गर्दिसकेकी थिइन्, तामाङले । जब बुहारीलाई आफ्नो समस्या सुनाइन्, त्यसलगत्तै बुहारीको साथमा नेपाल मेडिकल कलेजमा पुगिन् उनी । चिकित्सकको सल्लाह अनुसार तमाङको अप्रेशन पनि भयो ।
वर्षौसम्मको समस्या शरीरबाट हटेपछि आफ्नो शरीर नै हलुङ्गो भएको बताउँछिन्, तामाङ । ‘अहिले काम गर्न पहिले जति गाह्रो छैन, तर गह्रुङ्गो काम गरेको समयमा भने अलिअलि ढाड दुख्छ’, उनले भनिन् । तामाङ एक प्रतिनिधि पात्र मात्रै हुन् ।
उनी जस्तै हजारौं महिलाले लाजकै कारण आङ खसेको समस्या लुकाउने गरेको अवस्था छ ।
महिलामाथि गरिने हिंसा, जनचेतनाका कमी, अशिक्षा, बालविवाह लगायतका कारण दुरदराजमा रहेका महिला वर्षौसम्म पीडा लुकाएर बस्न बाध्य छन् । अहिले पनि यस्ता समस्या लाज र डरका कारण भन्न नसक्नु साँच्चै नै विडम्बनाको कुरा हो ।