राष्ट्रसंघ भन्छः सन् २०१९ को तीन महिनामा दादुराको संक्रमण विश्वभरि तीन गुनाले बढ्यो

बीबीसी, ४ वैशाख । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ को प्रथम तीन महिनामा विश्वव्यापी रूपमा दादुराका बिरामीको सङ्ख्या गत वर्षको यही अवधिको तुलनामा तीन गुना भएको पाइएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको उक्त निकायका अनुसार प्रारम्भिक तथ्याङ्कले विश्वका सबै क्षेत्रमा दादुराको महामारी रहेको स्पष्ट सङ्केत गरेको छ ।
अफ्रिकामा भने दादुराको सङ्क्रमण नाटकीय रूपमा बढेको पाइएको छ । त्यहाँ दादुराको सङ्ख्या ७०० प्रतिशतले वृद्धि भएको छ ।
विश्वव्यापी रूपमा १० बिरामीमध्ये एक जना मात्र स्वास्थ्य निकायको जानकारीमा पुग्ने भएकाले विश्व स्वास्थ्य सङ्गठनले वास्तविक सङ्ख्या निकै बढी हुन सक्ने बताएको छ ।
के हो दादुरा?
दादुरा एउटा भाइरसका कारण लाग्ने रोग हो ।
यो प्रायः बालबालिकामा लाग्छ ।
दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ ।
तर कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ ।
कहाँ फैलियो महामारी ?
धेरै देशमा दादुराको प्रकोप देखिएको छ ।
युक्रेन, माडागास्कर र भारत यो रोगबाट नराम्ररी प्रभावित छन् । त्यहाँ सरदर प्रति १० लाख मानिसमध्ये दशौँ हजार दादुराका बिरामी फेला परेका छन् ।
माडागास्करमा मात्रै सेप्टेम्बर महिना यता आठ सय जनाले दादुराका कारण ज्यान गुमाएका छन् ।
महामारीले ब्राजिल, पाकिस्तान र यमनलाई पनि प्रभावित तुल्याएको छ । ती देशमा पनि कैयौँको मृत्यु भएको र त्यसमा मुख्य रूपमा कम उमेरका बालबालिका छन् ।
दादुराविरुद्धको खोप व्यापक रूपमा दिने गरिएका अमेरिका र थाईल्यान्डमा पनि बिरामीहरूको सङ्ख्या बढेको छ ।
नेपालमा पनि सन् २०१७ देखि दादुराको सङ्क्रमण उल्लेख्य सङ्ख्याले बढेको बताइन्छ ।
नेपालमा सन् २०१८ मा २ सय ५३ जनालाई दादुरा भएको पुष्टि भएको थियो ।
तर यो वर्षका प्रथम तीन महिनामै ४ सय २९ जनालाई दादुराको सङ्क्रमण भएको आशङ्का गरिएको थियो। तीमध्ये ३७२ मा सो रोग लागेको पुष्टि भयो ।
किन फैलियो दादुरा?
उचित रूपमा खोप दिँदा दादुरा पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । तर खोप अभियानले सबैलाई समेट्न सकेको छैन ।
राष्ट्रसङ्घ भन्छ, “रोकथामको पहिलो खुड्किलो विश्वव्यापी रूपमा ८५ प्रतिशतमा सीमित छ ।”
महामारी रोकथामका लागि खोपले ९५ प्रतिशत जनसङ्ख्यालाई छुनुपर्छ ।
सीएननमा प्रकाशित एउटा लेखमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुखहरू हेन्रियन्टा फोर र टेड्रोस एड्हेनम गेब्र्याइससले विश्व “दादुरा सङ्कटको बीचमा” छ ।
यो रोग फैलिनुमा खोपबारे विद्यमान भ्रम र विरोधाभासपूर्ण सूचनालाई आंशिक रूपमा जिम्मेवार भएको उनीहरूले बताएका छन् ।
उनीहरूले केवल सन् २००० यता दादुराको खोपका कारण दुई करोडभन्दा बढी मानिसको जीवनरक्षा भएको उल्लेख गरेका छन् ।
दादुराको महामारी देखिएपछि कैयौँ देशमा खोपको अनिवार्य बनाउनु पर्ने आवाज चुलिएको छ ।
गत महिना इटलीले ठेउला, दादुरा र अन्य रोगको खोप नलगाउँदासम्म छ वर्षभन्दा कम उमेरका बालबालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएको छ ।
अमेरिकाको न्यूयोर्कमा पनि जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्दै सबै बासिन्दालाई खोप लगाउन वा जरिवानाको तिर्न निर्देशन दिइएको छ ।
दादुराको आकस्मिक सङ्कट किन ?
जेम्स ग्यालहर, स्वास्थ्य तथा विज्ञान संवाददाता, बीबीसी न्यूज
दादुरा सबैतिर धेरै सङ्क्रमण हुने भाइरल रोग हो ।
तर यो रोगबारे कुनै परिवर्तन भएको छैन। थप सङ्क्रामक वा खतरनाक बन्न दादुराको भाइरसमा कुनै परिवर्तन भएको छैन । तर सबै कुरमा मान्छेमा गएर जोडिन्छ ।
यसका दुईवटा पाटा छन्, एउटा गरिबी र अर्को गलत सूचना । गरिब देशहरूमा कम मानिसले मात्र खोप लगाएका छन् र ठूलो अंश भाइरसको जोखिममा छ ।
यसले प्रजातान्त्रिक गणतन्त्र कङ्गो, किर्गिस्तान र माडागास्कर जस्ता देशमा ठूलो महामारी निम्त्याउन सक्छ ।
तर उचित रूपमा उच्च खोप दर भएका सम्पन्न देशहरूमा पनि बिरामी बढेका छन् । त्यहाँ केही समुदायहरूले सामाजिक सञ्जालमा खोपबारे गलत सूचना प्रवाह गरेका कारण आफ्ना बालबालिकालाई खोप लगाउँदैनन् ।
विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक तथ्याङ्कबारे टिप्पणी गरिएको बताउँदै वास्तविक तथ्याङ्क निकै बढी हुने उल्लेख गरेको छ । र, दादुरा हानिरहित स्थितिमा धेरै भन्दा गइसकेको छ ।
दादुराका कारण हरेक वर्ष खासगरी बालबालिकासहित झन्डै एक लाखको ज्यान जाने गरेको छ ।