पहिलोपटक नेपालमा अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै

काठमाडौं, ३ बैशाख । आगामी ७ र ८ बैशाखमा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलन होटल याक एण्ड यतीमा हुँदैछ । सम्मेलनमा विश्वभरबाट अंग प्रत्यारोपण क्षेत्रका प्रसिद्ध चिकित्सकहरूको उपस्थिति हुनेछ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सहकार्यमा सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका तथा भारतका ३० जना र नेपालका समेत गरेर करिव तीन सय प्रत्यारोपण विज्ञहरूको सहभागिता रहनेछ ।
सम्मेलनको पहिलो दिन प्राविधिक विषयमा छलफल हुने । दोस्रो दिन भने नेपालका विभिन्न जिल्लामा प्रत्यारोपण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मष्तिस्क मृत्युबाट हुने अंगदानसम्बन्धी छलफल हुनेछ ।
अंगदान र प्रत्यारोपणको क्षेत्रमा जनचेतना जगाउने विश्वासका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्विकृतीमा जिल्ला स्तरका अस्पताल प्रमुख र नर्सिङ प्रमुखलाई सम्मेलनमा निःशुल्क सहभागी गराइनेछ ।