सरकारको वार्षिक कार्यक्रम सञ्चालन हुन नसक्दा आधा अर्ब बढिको रकम फ्रिज हुने अवस्थामा

काठमाडौं, १ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्नुपर्ने स्वास्थ्य सेवा प्रवाहका कार्यक्रम कार्यान्वयन फितलो देखिएको छ ।
सरकारले सञ्चालन गर्नुपर्ने अधिकांश कार्याक्रम कार्यान्वयन फितलो हुँदा झन्डै आधा अर्ब बढिको रकम फ्रिज हुने अवस्थामा पुगेको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको पुनर्जागरण महाशाखाले जीवनशैली परिवर्तन, नाक, कान, घाँटीसम्बन्धी अभिमुखीकरण तालिम जस्ता ४ कार्यक्रम सञ्चालनका लागि छुट्याएको १ करोड १३ लाख, इपिडिमियोलोजी महाशाखाले सर्पदंश र खानाको गुणस्तरलगायत १३ कार्यक्रम सञ्चालन गर्न छुट्याएको ४ करोड ४ लाख, बाल स्वास्थ्य महाशाखाले निमोनियासम्बन्धी अनुसन्धान लगायत ४२ कार्यक्रमको लागि छुट्याएको ३ करोड ७६ लाख र परिवार स्वास्थ्य महाशाखाले एनेस्थेसिया, रिक्यानलाइजेशनलगायत २५ कार्यक्रमको लागि छुट्याएको ९ करोड ८१ लाख, आपूर्ति व्यवस्था महाशाखाले ९ कार्यक्रमको ४ करोड ७० लाख र व्यवस्थापन महाशाखाले फोहोरमैला व्यवस्थापनलगायत २७ कार्यक्रमको ३ करोड ७७ लाख समेत २७ करोड २१ लाखकोकार्यक्रम सञ्चालन हुन सकेको छैन ।
त्यसैगरी राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोग निदान तथा व्यवस्थापन लगायत २४ कार्यक्रमको ३१ करोड १८ लाखको शून्य प्रगति देखाएको छ । राष्ट्यि स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले हात्तीपाइले लगायत १० कार्यक्रमको ५ करोड ८५ लाख र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडाले मलेरिया, डेङ्गुलगायतका अनुसन्धान गर्न १४ कार्यक्रम सञ्चालनको लागि व्यवस्था भएको १ करोड ४० लाखको कार्यक्रम सञ्चालन हुन सकेको छैन ।
सरकारले निर्धारण गरेको वार्षिक कार्यक्रम सञ्चालन गर्न नसक्दा स्वास्थ्य सेवा प्रवाहमा असर पर्ने देखिएको छ ।