स्वास्थ्य अनुसन्धान केन्द्रः पौने चार सय मध्ये ८१ मात्रै सञ्चालनमा

काठमाडौं, ३० चैत । अनुसन्धान गर्न भनी खोलिएका अधिकांश स्वास्थ्य अनुसन्धान केन्द्रले अनुसन्धान गरेको पाइएको छैन ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अधिकांश अनुसन्धान केन्द्रले स्थापना भएदेखि हालसम्म एउटा समेत अनुसन्धान गरेका छैनन् । कतिपय केन्द्र सञ्चालनमा समेत छैनन् ।
नियमत स्वास्थ्य अनुसन्धान केन्द्रका नाममा खुलेका स्वास्थ्य संस्थाले वर्षमा दुई वटा अनुसन्धान गरेकै हुनुपर्छ । साथै अनुसन्धानको रिपोर्ट स्वास्थ्य अनुसन्धान परिषद्मामा बुझाउनुपर्छ ।
कम्पनी रजिस्टारको कार्यालय काठमाडौंका अनुसार नेपालमा तीन सय ७० वटा स्वास्थ्य सम्बन्धी अनुसन्धान केन्द्र छन् । तर यसमध्ये ८१ अनुसन्धान केन्द्र मात्र सञ्चालनमा रहेको परिषद्को प्रतिवेदनमा उल्लेख छ ।
८१ मध्ये ११ वटा केन्द्र कुन हालतमा छन भन्ने सम्म जानकारी नभएको परिषद्को प्रतिवेदनमा उल्लेख छ ।
परिषद्लाई जानकारी उपलब्ध गराएका ७० केन्द्र मध्ये २१ केन्द्र अनुसन्धानमा संलग्न रहेका छन् ।
यी केन्द्रहरूको नियमित अनुसन्धानमूलक कार्य गर्ने प्रतिबद्धता समेत जनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्न इच्छुक केन्द्रका लागि अनुसन्धानमैत्री वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिएको छ ।
साथै अनुसन्धान शब्दको दुरुपयोग रोक्न पनि अनुरोध गरेको छ । परिषद्ले अनुसन्धान केन्द्र नाम राखि अनुसन्धान नगर्ने केन्द्रलाई यसै वर्षदेखि नामबाट अनुसन्धान शब्द हटाउन सुझाव दिएको हो ।